२१ माघ २०८२, बुधबार | February 4, 2026

सालझण्डी-ढोरपाटन खण्ड : १४ वर्षमा ३० प्रतिशत काम



ढोरपाटन । सालझण्डी-ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।

रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्रयाक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो ।

सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । सोमध्ये रुपन्देहीमा चार दशमलव पाँच किमी र अर्घाखाँचीमा १३ दशमलव पाँच किमी मात्रै सडक कालोपत्र भएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिइन । अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उनले बताइन ।

इञ्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३ दशमलव पाँच किमी कालोपत्र भइरहेको छ । उनले पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किमी सडक पनि कालोपत्र भइरहेको जानकारी दिइन ।

त्यस्तै अर्घाखाँचीको माटेबाट भण्डारासम्म सात किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको आठ दशमलव दुई किमीसडक कालोपत्र भइरहेको थापाले उल्लेख गरिन । अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ सात-सात गरी ३२ किमी सडक स्तरोन्नतिको काम अझै सुरु हुन नसकेको उनले बताइन । पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उनको भनाइ छ ।

ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन-९ का बमबहादुर सुनारले बताए । साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ ।

बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुन नसक्ने सुनारले बताए । “यो विकट ठाउँमा सडक आएपछि ठूलो राहत भए पनि लामो समयसम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन् । टाढाटाढाबाट पर्यटक ढोरपाटन घुम्न आउँछन् तर बाटोको दूरावस्थाले गर्दा अर्को पटक आउने योजना सायद बनाउँदैनन्”, उनले भने ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ४० बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु