बुटवल । भैरहवामा बसेर कल बाईपासको अबैध धन्दा गर्ने एकजनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा न.३ खजहनाबाट कल बाईपासको धन्दा गर्ने नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं ८ नोडिहवाका २७ वर्षिय रोहित अहिरलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय गुलावचन्द गुप्ताको घरकोठा भाडामा लिई विभिन्न उपकरणहरु जडान गरी कल बाईपास संचालन गरेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गुप्ताको घरबाट अहिरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका अहिरको कोठाबाट स्पाइलर कम्पनीको हव ९ थान, इन्टेल कोर आई ५ सिपियु ४ थान, मोडेम १६७ थान, एन्टेना सहितको हव २ थान, नेपाल टेलिकमको सिमकार्ड १९० थान, एनसेलको सिमकार्ड २७० थान, एलसिडी मोनिटर १ थान, मोबाइल ५ थान, ल्यापटप १ थान र वर्डलिन्कको राउटर १ थान बरामद भएको छ । अहिरमाथि कल बाईपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको समेत प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया