बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघले नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापना दिवस एवं ईलाका प्रहरी कार्यालय बुटवलमा नयाँ आएका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानालाईएक कार्यक्रमको आयोजना गरि स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
संघको कार्यालय बुटवल उपमहानगरपालिका वडा नं। ४ मा आयोजित कार्यक्रममा व्यवसायीहरुले शान्तिसुरक्षाको दरिलो व्यवस्थापन गर्दै व्यवसाय चलायमान बनाउने बातावरण सिर्जना गर्न प्रहरी प्रशासनसंग आग्रह गरेका थिए । उनीहरुले सुनचाँदीको व्यावसाय निकै सम्बेदनशिल व्यवसाय भएका कारण यसको नियमन र सञ्चालनमा दुवै पक्ष जिम्मेवार भएर सहमति र सहकार्यका लागि संवेदनशिल बन्नु पर्ने धारणा राखेका थिए ।
सो अवसरमा बोल्दै नवनियुक्त प्रहरी नायव निरिक्षक इन्द्र बहादुर रानाले शान्ति सुरक्षा कायम गर्न र अवैध कारोवार नियन्त्रण गर्ने विषयमा प्रहरी प्रशासनबाट कानुन पालनामा कुनै सम्झौता नगर्ने बताउदै प्रहरी नागरिकसंगै मिलेर अगाडी बढ्ने जनाए ।
रानाले व्यवसाय सञ्चालनका क्रममा आउने समस्यालाई कानुनी र व्यवहारिक पक्ष हेरेर नै प्रहरीले आफ्नो दायित्व पुरा गर्ने हुदा त्यसमा सुनचाँदी व्यवसायीहरु जिम्मेवार बनेर नियोजित रुपमा अवैद्य कारोबार प्रोत्साहन गर्ने तर्फ नलाग्न अनुरोध गरे ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक कुमार विकले सुनचाँदी व्यवसाय पछिल्ला समयमा व्यवस्थित बन्दै गएको उल्लेख गर्दै अझै पनि चोरीका घटनाहरु हुने गरेको हुँदा त्यसलाई अन्त्य गर्न प्रहरी प्रशासन र व्यवसायिक संस्थाहरुबीचको सहकार्य जरुरी रहेको बताए ।
सो अवसरमा बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्माले बुटवल क्षेत्रमा रहेको सुनचाँदी व्यवसायको अवस्था र भोग्नु परेका अप्ठ्याराहरुका बारेमा जानकारी गराउदै सुनचाँदी व्यवसायीहरुलाई हतोत्साहित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न आग्रह गरे । उनले सुनचाँदी व्यवसायमा हुने अवैद्य कारोबारलाई नियन्त्रण गर्न संघ सधै प्रहरी प्रशासनसंग सहयोगी बन्ने प्रतिवद्धता जनाउँदै ग्राहकबाट गरिने गलत काममा व्यवसायी भागीदार हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन तथा उपाध्यक्ष कृष्ण बहादुर सुनारको स्वागतमा भएको कार्यक्रममा महासघका प्रदेश उपाध्यक्ष हरिबहादुर सुनार, संघका सल्लाहाकार हर्षबहादुर विक, संघका निर्वतमान जिल्ला उपाध्यक्ष यस रत्न वज्राचार्य लगायत बोलेका थिए ।


















प्रतिक्रिया