काठमाडौ । मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२५, “समुदायको शक्ति” भन्ने विश्वव्यापी नाराका साथ विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिन मनाउने गरिएको छ ।
यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति श्रम मन्त्री शरदसिंह भण्डारीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समस्या पहिचान नभएसम्म त्यसको सुनुवाई नहुने र समाधान पनि नहुने भन्दै समुदाय नै शक्ति भएको कुरा बताए।
उनले समुदायका लागि विभिन्न संवैधानिक व्यवस्थाहरू भएको तर विद्यमान नीति ऐन तथा कानुन लैङ्गिक मैत्री नभएको भन्दै त्यसको संशोधन गर्न आवश्यक भएको बताए।
यसैगरी समय सापेक्ष श्रम ऐन पनि संशोधन हुने प्रक्रियामा अगाडि बढेको र श्रम ऐनले कुनै पनि नागरिकलाई विभेद नगरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको रोजगार तथा श्रमको विषय गहन भएकाले सो सम्बन्धमा प्रक्रिया पुर्याएर आवश्यक छलफलका लागि अगाडि बढ्न आग्रह गरे।
प्रमुख अतिथि मन्त्री भण्डारीले विद्यमान कानुनलाई पूर्णता दिने, सामाजिक मान्यता स्थापित गर्ने र सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्दै कानुन परिमार्जनको आवश्यकता रहेको बताए । उनले फोबिया एक प्रकारको डर भएको भन्दै उक्त डरबाट मुक्त भई एकताबद्ध रूपमा समुदायलाई शक्तिका साथ अगाडि बढ्न आग्रह गरे।
यस्तै कार्यक्रममा मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले समुदायको उपस्थितिले शक्तिको प्रतिनिधित्व गरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अस्तित्वलाई एसिया र विश्वमा नै तेस्रो मुलुकको रुपमा नेपालले स्वीकार गरेको बताइन्।
उनलेसमुदायको उपस्थितिले समुदायको पनि मुद्दा तथा विषयवस्तुहरू रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई मानसिक रोगको सूचीबाट हटाइएको बताइन्।
यसैगरी विशेष अतिथि सङ्घीय संसद प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले संविधान तथा कानुनले कुनै पनि जात, धर्म, वर्ण, लिङ्ग र सम्प्रदायलाई भेदभाव नगर्ने भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मुद्दामाथि छलफल गर्नु राज्यको दायित्व भएको बताए।
उनलेअहिले पनि समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र विवाह जस्ता आधारभूत मानव अधिकारको सदुपयोग गर्न नपाएको गुनासो गर्दै बहुसंख्यकको हक जति छ अल्पसंख्यकको हक पनि उत्तिकै हुने बताए।
साथै समुदाय सम्बन्धित कानुनी जटिलताहरूको समाधान गर्न महिला तथा सामाजिक मामिला समिति समन्वय सहकार्यका लागि सदैव प्रतिबद्ध रहेको पनि बताए। यसैगरी विशेष अतिथिको रूपमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकी देवानी संहिताले परिभाषित गरेको विवाहसम्बन्धी परिभाषालाई लैङ्गिक मैत्री बनाउँदै संशोधन गर्न अति आवश्यक रहेको बताए।
उनलेएकता नै बल हो भन्दै समुदाय एकजुट भएर उनीहरूको मानव अधिकारका लागि आवाज उठाउन सकेको खण्डमा उक्त आवाज शक्ति बनी काम गर्ने बताए।
साथै राष्ट्रिय मानवअधिकार आयोगले समुदाय सम्बन्धी विभिन्न मुद्दाहरूमा नेपाल सरकारलाई सिफारिस गर्दै आवश्यक परिमार्जन गर्न प्रतिवेदन तयार पारी सोहीअनुसार समन्वय गरिरहेको बताए।
कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथि र सभाध्यक्ष मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले संयुक्त रुपमा समुदायका व्यक्ति तथा जोडी भनी पहिचान गर्ने ११ प्रेरणादायक कथा समेटिएको पुस्तक “ समुदायको शक्ति” विमोचन गरिएको थियो । कथापुस्तकमा समावेश भएका जोडीहरुलाई पनि प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यस पुस्तकमा साझेदार गरिएका कथाहरुले वैवाहिक समानता नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जोडीहरुले व्यक्तिगत तथा सार्वजनिक जीवनमा भोग्दै आइरहेको संघर्ष र पहिचानको कथा साथै अन्य विविध मुद्धाहरुलाई समेटेको छ ।
यसका साथैे विगत २८वर्ष देखि संगै बस्दै आइरहनु भएको लुम्बिनी प्रदेश दाङ निवासी समलिङ्गी महिला जोडी पवित्रा वादी नेपाली र बिमला बिक तथा समुदायको सदस्यको रुपमा आफ्नो सन्तानलाई स्वीकार गर्नु भएको बागमती प्रदेश काठमाडौँका समलिङ्गी पुरुष अशोक कोइराला र उहाँको परिवारलाई प्रमुख अतिथिबाट सम्मान गरियो ।


















प्रतिक्रिया