काठमाडौं । पाकिस्तान-नेपाल संसदीय मैत्री समुहसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले अन्तक्र्रिया गरेका छन् ।
पाकिस्तानी दूतावासमा दुई पक्षबीच अन्तक्र्रियात्मक भेटघाट भएको हो ।
त्यसक्रममा राजदूत हाश्मीले पाकिस्तान र नेपालबीचको लामो समयदेखिको सौहार्दपूर्ण सम्बन्धको प्रशंसा गरे। यो सम्बन्ध साझा सांस्कृतिक सम्पदा, आपसी सम्मान र क्षेत्रीय सम्बन्धमा आधारित रहेको उनले बताए । उनले दुई मुलुकको संसदबीचको सम्बन्धलाई थप विस्तार गर्ने तथा व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति, जलवायु संरक्षण, जन सम्पर्क र क्षेत्रीय शान्तिमा द्विपक्षीय सहयोग वृद्धि गर्ने पाकिस्तानको इच्छालाई दोहो-याए ।
राजदूतले नेपाल-पाकिस्तान संसदीय मैत्री समूहलाई पाकिस्तानको अर्थतन्त्र र क्षेत्रीय अवस्थाको पछिल्लो विकासबारे पनि जानकारी दिए । शान्तिपूर्ण र समृद्ध दक्षिण एसियाको लागि पाकिस्तानको दृष्टिकोणलाई जोड दिँदै उनले नेपाली संसदको संसदीय कूटनीति र संस्थागत सम्बन्धलाई प्रोत्साहन गर्ने चासोलाई स्वागत गरे ।
नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका सदस्यहरूले नेपाललाई पाकिस्तानको निरन्तर समर्थनको प्रशंसा गरे । उनीहरुले नेपाल र पाकिस्तानबीच रहेको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे । उनीहरूले संसदीय आदानप्रदानले आपसी समझदारी गहिरो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए । उनीहरूले विशेष गरी आर्थिक, सांस्कृतिक, युवा, महिला, सीमान्तकृत समूह, प्राविधिक सहयोग र क्षमता निर्माण जस्ता नयाँ सहयोगका क्षेत्रहरूको अन्वेषणमा पनि जोड दिए ।
दुवै पक्षले दुई देशको हितका लागि नियमित रूपमा सँगै काम गर्ने सङ्कल्प व्यक्त गरेका छन् । बलियो संस्थागत सम्बन्ध निर्माण, खुला संवाद र बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्दै दुई देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उनीहरु सहमत भएका छन् ।
अन्तरक्रियामा मैत्री समूहका सदस्यहरू, पाकिस्तान दूतावासका कूटनीतिज्ञहरू र नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका प्रतिनिधिहरूको उपस्थिति थियो।


















प्रतिक्रिया