१ पुस २०८२, मंगलबार | December 16, 2025

जलजला जोड्ने पदमार्ग निर्माण



म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका-१ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएको हो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित उक्त योजनाको उपभोक्ता समितिका सचिव टीका पुनले माटेबाट वाइफाइडाँडा हुँदै जलजलासम्म दुई किलोमिटर दूरीमा ढुङ्गाको सिँढी चिनेर पदमार्गका साथै तीन ठाउँमा विश्रामस्थल निर्माण गरिएको जानकारी दिए ।

“परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो”, उनले भने, “बस्तीबाट टाढा पदमार्ग बनाउन लेसपारका २५ जना मजदुरहरू चार महिनासम्म निर्माणस्थलमै बास बसेका थियौँ ।” पदमार्गका साथै दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल निर्माण भएको छ ।

तीन हजार तीन सय मिटर उचाइमा रहेको माटेबाट दुलेखानी-वाइफाइडाँडा हुँदै तीन हजार मिटर उचाइमा अवस्थित जलजलासम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राका क्रममा अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको अवलोकन गर्न सकिन्छ । मृगलगायत जङ्गली जनावर पनि देखिन्छन् ।

यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भिरको झाडीमा जोखिम मोलेर हिँड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । आव २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप रु २० लाख बजेटबाट जलजलबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उनले बताए । यसअघि वाइफाइडाँडामा प्रदेश सरकारको रु १५ लाख बजेटबाट आश्रयस्थल भवन निर्माण भएको थियो भने गत वर्ष जलजला र मोदी गाउँपालिकाको साझेदारीमा जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो ।

हिन्दू धार्मिकग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको छ । विभिन्न किसिमका जडीबुटी पाइने जलजला जैविक विविधतायुक्तस्थल हो । जलजलाको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनको गतिविधि सञ्चालन भएको छ । जलजलाको पहाडका बीचमा सीम क्षेत्र छ । यहाँ बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना अघि सारिएको छ । म्याग्दीको बेनीबाट पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पुगेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : २७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष