काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र हालैमात्र एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुनेभएको छ ।
यौटै पार्टीका नेताहरुबीचको भेटवार्ताको खासै महत्व नहुने भए पनि भण्डारीको एमालेमा फिर्ती र त्यसबाट एमालेभित्र देखिएको कित्ताकाटका कारण यो भेटलाई महत्वपूर्ण मानिएको छ ।
भण्डारीले एमालेको भावी अध्यक्ष बन्ने गरी आफुले पार्टी सदस्यता नविकरण गरिससकेको बताएकी थिइन । तर भण्डारीलाई आफ्नो आगामी बाटोको काँडा सम्झिएका ओलीले पार्टीको पोलिटब्यूरो बैठकमा सदस्यता नवीकरण नभएको बताएका थिए ।
ओली र उनी निकटनेताहरुले भण्डारी राष्ट्रपति भएका कारण पार्टी राजनीतिमा फर्किन नहुने तर्क गर्दै आएका छन् । भण्डारीलाई समर्थन गर्ने समुहले भने राजनीतिमा फर्किन संविधानिक छेकबार नभएको र उनको सदस्यता नवीकरण भैसकेको दाबी गरेका छन् ।
भण्डारीलाई एमालेको अध्यक्ष बन्न नदिनैका लागि आगामी पार्टी विधान महाधिवेशनमा प्रतिनिधि नबनाउने गरी एमाले सचिवालय र पोलिटब्यूरोले निर्णय गरिसकेको छ । उनको पार्टी सदस्यता नै हाल पेन्डिङमा राखिएको छ ।
भण्डारीको राजनीतिक यात्राबारे सचिवालय र पोलिटब्यूरोमा नेताहरु दुई धु्रवमा देखिएपछि अध्यक्ष ओलीले उनीसँग कुरा गरेर टुंग्याउने बताएका थिए । त्यसैको आधारमा दुई नेताबीच आज भेट हुन लागेको हो ।



















प्रतिक्रिया