२२ माघ २०८२, बिहिबार | February 5, 2026

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज-दिल्ली हवाई उडानलाई एजेण्डा बनाउन माग



नेपालगन्ज । बाँकेको नेपालगन्जमा अन्तरराष्ट्रिय स्तरको विमानस्थल तयार हुँदा पनि उडान नपाएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको खबर प्रकाशित भएसँगै नेपालगन्ज दिल्ली उडानको माग पुनः उठान गरिएको छ । प्रधानमन्त्रीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने खबर सार्वजनिक भएसँगै नेपालगन्ज दिल्ली हवाई उडानको मागको चर्चा सुरु भएको हो ।

प्रधानमन्त्री ओली भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्ने तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणको टुंगो लागेको हो । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले पद सम्हालेको १४ महिनापछि भारतीय समकक्षीको निम्ता पाएका छन् ।

पर्यटन व्यवसायी र सम्बद्ध व्यवसायीहरुले उठाउँदै आएको नेपालगन्ज दिल्ली हवाई उडानलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणमा एजेण्डा बनाउन पहल गर्न नेपालगन्जमा भेला आयोजना गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगन्ज र दिल्लीबीच सिधा हवाई उडानको विषयलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा समावेश गर्न पहल थालिने भएको हो ।

विगतमा पटकपटक कुरा उठे पनि ठोस निष्कर्षमा पुग्न नसकेको यो मुद्दालाई यसपटक भने नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा कार्यबिभाजन नै गरेर सक्रियता देखाइएको छ ।

त्यस सम्बन्धमा कार्ययोजना बनाउन बुधवार सर्वपक्षीय बैठकको आयोजना गरि बिभिन्न निर्णय गरिएको नेपालगन्ज उद्योग ािणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले बताए ।

नेपालगन्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा ’नेपालगन्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । सोही समूहको बैठकले बुधबार विभिन्न कार्यादेशसहितको निर्णय गरेको महासचिव रानाभाटले बताए ।

बैठकले सबै राजनीतिक दलहरुलाई समन्वय गरेर प्रधानमन्त्रीसम्म एजेण्डा, आवश्यकता र प्रभावकारिता सहित पुग्ने गरि योजना बनाएको उनले बताए ।

बैठकमा धारणा राख्दै नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले ऐजेण्डाहरु जसरी प्राथमिकताका साथ उठाइन्छ, त्यसको टुंगो नलागुञ्जेल छाड्न नहुनेमा जोड दिए । बाँके काँग्रेसका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिन जरुरी रहेको बताए ।

नेपालगन्जलाई ’मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगन्ज– दिल्ली सिधा उडान अपरिहार्य मानिएको सहभागीहरुले बताएका थिए । यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको बैठकमा औल्याइएको छ ।

त्यसका लागि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिको संयोजकत्वमा पूर्व अध्यक्ष झलक गैरे, नेपाली काँग्रेस बाँकेका सचिव सुधाँशु कोइराला, पत्रकार शरण कर्माचार्य, शंकर खनाल, आशीष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ । यो समितिले १० दिन भित्र नेपालगन्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ ।

त्यस्तै, नेपालगन्ज– दिल्ली उडानको मागलाई निरन्तर छलफल र बहसका माध्यमबाट निष्कर्षमा पुर्याउन दबाब सिर्जनाका लागि आवश्यक कार्ययोजनाका लागि संघका महासचिव रानाभाटको संयोजकत्वमा संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगर र स्थानीय शासन विज्ञ मीनबहादुर मल्ल सदस्य रहेको समिति गठन गरिएको छ ।

तीनै तहका सरकारसँग सहकार्य गरेर यसलाई सफल बनाउने गरि अगाडी बढ्ने निर्णय भएको महासचिव रानाभाटले जानकारी दिए । समुहका सदस्य–सचिवसमेत रहेका रानाभाटले स्थानीय सरकारका प्रमुख, प्रदेश सभाका सदस्यहरु र बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्ने निर्णय भएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ११ : २० बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका