रौतहट । रौतहटको गौर नगरपालिका-९, गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुटकेस भित्र एक महिलाको शव फेला परेको छ ।
शनिबार राति करिब ८ बजे सडकको पश्चिम किनारमा फालिएको अवस्थामा डोरीले बेरिएको सुटकेस स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेपछि सुटकेसमा शव रहेको पुष्टि भएको हो । त्यसपछि घटनास्थललाई रातभरि घेरा हालेर सुरक्षा दिइएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान सुटकेस खोल्दा करिब ३५ वर्षकी विवाहित महिलाको शव फेला परेको हो । महिलाले गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी थिइन् । उनको टाउकोमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
सुटकेस भित्र केही कागजात र मृतकको सुरुवालको खल्तीबाट केही नगद समेत बरामद भएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका नायव प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिए ।


















प्रतिक्रिया