काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद ईश्वरी न्यौपानेलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उमेदवार बनाउन सहमति गरेको हो।
यसअघि समितिको सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरिएको हो। आजै दिउँसो १ बजेदेखि सभापति चयनकालागि संसद सचिवालयले मनोनयन कार्यक्रम तोकेको छ।
न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारी सम्हालेकी थिइन्। अब कांग्रेसले उनको ठाउँमा खतिवडालाई पठाउने तयारी गरेको छ।
निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे गठित छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्याएको थियो । त्यसपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए।


















प्रतिक्रिया