नवलपुर । नवलपुर जिल्लाका विभिन्न खोला–नदीबाट खुलेआम ढुंगा, गिटी–बालुवा चोरी निकासी भइरहे पनि नियन्त्रणका लागि जिम्मेवार निकाय मौन देखिएका छन्।
कावासोती नगरपालिकाको केरुङ्गे खोला, हुप्सेकोट गाउँपालिका स्थित गिरीबारी खोला, बिनयी त्रिबेणीको बिनयी खोला र बुलिङटारको कालीगण्डकी नदीमा दैनिक रूपमा ठेक्का वा अनुमति विना नै ट्र्याक्टरमार्फत ढुङ्गा, बालुवा–गिटीको चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीका अनुसार विगत लामो समयदेखि खोला उत्खनन अवैध रूपमा भइरहेको छ। बिहान सबेरैदेखि रातिसम्म ट्र्याक्टर खोला किनारमा पुग्ने गरेको देखिन्छ। यसरी चोरीतस्करी हुने गिटी–बालुवा बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको भए पनि राज्यलाई भने राजस्व शून्य छ।
“दैनिक सयौँ ट्याक्टर नदीजन्य वस्तु चोरी भइरहेको छ, तर नियन्त्रण भने हुन सकेको छैन,” एक स्थानीयले बताए।
अवैध उत्खननका कारण खोलाको प्राकृतिक प्रवाहमा असर परेको छ। बिनयी खोलाका आसपासका खेत डुबानमा पर्न थालेका छन् भने कटान तीव्र भएको छ। ढुंगा–बालुवा उत्खननका कारण किसानका बारी बग्ने, बाटो भासिने र बस्ती जोखिममा पर्ने अवस्था देखिएको बिनयी त्रिबेणीका एक स्थानीय बासिन्दाले बताए।
नवलपुरको बिनयी त्रिबेणी गाउँपालिकास्थित बिनयी खोलामा अवैध रूपमा बालुवा चोरी निकासी भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन। स्थानीय स्रोतका अनुसार बिनयी खोलाको बालुवा गुणस्तरीय र बढी मूल्यमा बिक्री हुने भएकाले चोरी निकासी दिनानुदिन बढ्दै गएको छ। पटक–पटक स्थानीयवासी र सरोकारवालाले नियन्त्रणको माग गरे पनि प्रभावकारी कारबाही हुन नसकेको उनीहरूको गुनासो छ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले समेत खोला जन्य वस्तु चोरी नियन्त्रणमा कठिनाइ भएको स्वीकार गरेका छन्। उनले भने, “नगर प्रहरीले मात्र नियन्त्रण गर्न सक्ने अवस्था छैन, गाउँपालिकाले पनि आफ्नातर्फबाट निरन्तर अनुगमन गरिरहेको छ तर पूर्ण रूपमा नियन्त्रणमा ल्याउन गाह्रो भइरहेको छ।”
नियमअनुसार नदी–खोलाबाट ढुंगा–गिटी उत्खननका लागि निश्चित प्रक्रिया र करसहितको अनुमति लिनुपर्ने व्यवस्था भए पनि नवलपुरमा भने खोला जन्य वस्तुको चोरी नियन्त्रण हुन सकेको छैन।
नवलपुरको हुप्सेकोट गाउँपालिकाको गिरीबारी खोलाबाट ढुंगा, गिटी र बालुवा चोरी निकासी भइरहेको गुनासो तीव्र बन्दै गएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले यससम्बन्धी कुनै ठेक्का सम्झौता नगरिएको स्पष्ट पार्दै चोरी नियन्त्रणका लागि स्थानीय सरकार निरन्तर प्रयासरत रहेको बताइन्।
उनका अनुसार हालसम्म कुनै खोलाबाट गिटी–बालुवा उत्खनन वा निकासीका लागि गाउँपालिकाले ठेक्का लगाएको छैन। तर अवैध रुपमा केही समूहले चोरी ढुवानी गरिरहेको जानकारी निरन्तर आइरहेकाले नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल भइरहेको उनले बताइन्।
अध्यक्ष पाण्डेले भनिन्, “केही महिना अगाडि चोरी नियन्त्रण गर्ने क्रममा नगर प्रहरीमाथि आक्रमण गरी घाइते समेत बनाइएको थियो। यसबाट स्पष्ट हुन्छ, यो सामान्य समस्या होइन। यसलाई स्थानीय तह, प्रशासन, प्रहरी, नागरिक समाज सबै मिलेर मात्रै रोक्न सकिन्छ।”
उनका अनुसार स्थानीय तहले मात्र यो समस्यालाई समाधान गर्न सक्ने अवस्था छैन। चोरी निकासीमा संलग्न समूहले धम्की दिने, आक्रमण गर्ने प्रवृत्ति देखिएकाले राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्ने आवश्यकता रहेको अध्यक्ष पाण्डेको भनाइ छ।
विशेषगरी हुप्सेकोटका गिरीबारी लगायतका खोलामा चोरी निकासी हुने गरेको गुनासो स्थानीयवासीले गर्दै आएका छन्। अध्यक्ष पाण्डेले चोरी निकासीले न केवल राज्यको राजस्व नोक्सान भइरहेको, खोलाको प्राकृतिक संरचना भत्किँदै गएको र यसले दीर्घकालमा वातावरण तथा जनजीवनमा गम्भीर असर पार्ने बताइन्।
नवलपुरको कावासोतीमा रहेको करूङ्गे खोलाबाट अवैध रूपमा ढुंगा, गिटी र बालुवा चोरी निकासी बढेपछि कावासोती नगरपालिकाले अनुगमनलाई कडाइ गरेको छ। स्थानीय बासिन्दाले दिन–रात नै चोरी हुन थालेको भन्दै नियन्त्रणको माग गरेपछि नगरपालिका सक्रिय बनेको हो।
विशेषगरी कावासोती–३ र ५ को सीमाना क्षेत्रमा खोलाजन्य पदार्थ चोरी निकासी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन्। कावासोती नगरपालिकाका प्रमुख बिण्णु भुषालले चोरी नियन्त्रणका लागि नगरपालिका तर्फबाट नगर प्रहरी खटाइएको बताए।
“अवैध निकासी नियन्त्रणमा नगरपालिका सक्रिय छ, तर केवल नगर प्रहरीको भरमा मात्र यो सम्भव हुँदैन,” प्रमुख भुषालले भने, “यसका लागि सबै सरोकारवालाको उत्तिकै भूमिका आवश्यक छ।”खोलाजन्य पदार्थ चोरी निकासी रोक्न प्रहरी प्रशासन, स्थानीय तह र समुदायबीच समन्वय आवश्यक रहेको भुषालले बताए।
नवलपुर जिल्लाभित्र खोलाबाट ढुंगा, गिटी र बालुवाजस्ता खनिजजन्य पदार्थ चोरी–निकासी भइरहेको गुनासो बढ्दै गएपछि जिल्ला समन्वय समितिको पहलमा अनुगमन कार्य तीव्र पारिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले हालै बसेको बैठकले जिल्लाभर खनिजजन्य वस्तुको चोरी–निकासी नियन्त्रण गर्न सुरक्षा निकाय र स्थानीय तहलाई निर्देशन दिइसकेको बताए। उनले खोलाबाट अवैध रुपमा ढुंगा, गिटी, बालुवा निकालिएको सूचना प्राप्त भएसँगै जिल्ला अनुगमन समितिले अनुगमन थालेको जनाए।
“हामीले अनुगमन समिति गठन गरेर विभिन्न स्थानमा स्थलगत निरीक्षण गरिरहेका छौँ। केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कारबाही समेत गरिएको छ,” प्रमुख विश्वकर्माले भने, “स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको सहकार्यमा मात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ।”
अनुगमन समितिले हालसम्म विभिन्न खोलामा भइरहेको गतिविधि अनुगमन गर्ने क्रममा संलग्न केही सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ। यसअघि पनि अवैध निकासीमा संलग्न सवारी साधनलाई जरिवाना गरिनुका साथै संलग्न व्यक्तिलाई कानुनी प्रक्रियामा लगिएको बताइएको छ।
जिल्लाभित्र विशेषगरी हुप्सेकोट, कावासोती, बिनयी त्रिबेणी, मध्यबिन्दु र बुलिङटार लगायतका क्षेत्रमा अवैध गिटी–बालुवा निकासी भइरहेको भन्दै स्थानीयवासीले बारम्बार आवाज उठाउँदै आएका छन्। खोलाबाट अनियन्त्रित निकासीका कारण वातावरणीय असन्तुलन, नदी कटान, खेतीयोग्य जमिनमा क्षति र स्थानीय संरचनामा समेत जोखिम बढेको उनीहरूको गुनासो छ।
जिल्ला अनुगमन समितिले भने निरन्तर अनुगमनमार्फत कारबाहीलाई कडाइ गर्ने बताउँदै आए पनि नियन्त्रणमा चुनौती देखिएको छ।



















प्रतिक्रिया