काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोक थ्री आर’ परिचय दिने ह्याकरले वेबसाइट नियन्त्रणमा लिएर सुरक्षात्मक कमजोरी देखाउने सूचना सार्वजनिक गरेका छन् ।
वेबसाइट खुल्नेबित्तिकै ह्याकरको नाम अंकित सूचना देखिने अवस्था सिर्जना भएको अध्यागमन कार्यालयले जनाएको छ । यसअघि बिहीबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट समेत ह्याक भएको थियो । तर हाल सो साइटमा ‘पेज नट फाउन्ड’ मात्र देखिन्छ ।
हवाई कम्पनीहरूको नियमन गर्ने निकायकै वेबसाइट ह्याक हुनु गम्भीर सुरक्षा चुनौती भएको साइबर सुरक्षाविद्हरूको टिप्पणी छ । उनीहरूका अनुसार यसले नेपालको सूचना प्रविधि सुरक्षामा व्यापक कमजोरी रहेको स्पष्ट देखाउँछ ।
तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले वेबसाइट ह्याक नभएको दाबी गरेका छन् । उनले प्राधिकरणको साइट निर्माण तथा प्रविधिक सुधारको काम भइरहेको स्पष्ट पारेका छन् ।
साइबर सुरक्षासम्बन्धी कमजोरीले अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पार्ने भन्दै विज्ञहरूले संवेदनशील निकायका वेबसाइट सुरक्षित बनाउन तत्काल ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।



















प्रतिक्रिया