काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नाराका साथ महाधिवेशन आयोजना गरिएको हो ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आफ्ना–आफ्ना प्रतिवेदन पेश गर्नेछन् । प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल गरिनेछ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा हालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, मुलुकको मुख्य चुनौती, पार्टीको कार्यदिशा र आगामी कार्यभारसम्बन्धी विषय समेटिएका छन् । प्रतिवेदनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अघि बढाउने मार्गचित्र प्रस्तुत गर्ने बताइएको छ ।



















प्रतिक्रिया