काठमाडौं । ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो ललितपुरको गोदावरीतर्फ जाँदै गरेको गाडीले हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको हो । उक्त गाडी नेकपा (एमाले)को विधान महाधिवेशन कार्यक्रममा सहभागी हुन गइरहेको बताइएको छ ।
घटनापछि आक्रोशित स्थानीयले सातदोबाटो-गोदावरी सडक केहीबेर अवरुद्ध गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी खटिएको थियो ।
ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । उनका अनुसार गाडी प्रदेशमन्त्रीको भए पनि हालसम्म कुन मन्त्री सवार थिए भन्ने कुरा खुलेको छैन ।



















प्रतिक्रिया