लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताएका छन् ।
जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको आयोजनामा लम्जुङको भोटेओडरमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रचण्डले भने, “राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला रु ६४ म जस्तै मत हामीलाई एक पटक दिनुस्। हामी सुसासन र सामाजिक न्याय दिन्छौं। आत्मआलोचना र आत्मसमिक्षा सहित भनेको छु । अब फेरि एक पटक सेवा गर्ने मौका दिनुस्, लम्जुङका जनतालाई विकास र समृद्धि दिने संकल्प गर्दछु।”
जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता परिवार, नेताकार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको अडान स्पष्ट पारे ।
“भ्रष्टाचार पार्टीहरूमा, सरकार र ब्युरोक्रेसीमा देखिएपछि हामीले सरकारमै रहेर सुसासनको अभियान चलाएका थियौं। मिटर्ब्याज पीडितलाई न्याय दिनेगरी पहिलोपटक ऐन बनाएर समाधानको बाटो खोल्यौं,” उनले स्मरण गरे ।
प्रचण्डले सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उल्लेख गरे । चीन भ्रमणको क्रममा १४ वटा परम्परागत नाका खोल्ने पहल भएको जानकारी दिँदै प्रचण्डले “देशभित्र सुशासन र बाहिर राष्ट्रिय हितका पक्षमा काम गर्दा राम्रो कामकै कारण संख्याको बलमा हामीलाई हटाइयो। तर हामी जनतासँगै छौं, फेरि जनताको ताकत लिएर आउने छौं,” भने ।
प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत बैतडीदेखि लमजुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरृ। लमजुङको कृषि सम्भावनाबारे जोड दिँदै उनले भने, “यहाँको जल, जमीन र वनको उचित सदुपयोग गर्न सके कृषिमा ठूलो प्रगति सम्भव छ। सरकारमा रहँदा हामीले कृषि र सूचना प्रविधिलाई अग्रणी क्षेत्र बनाउन खोजेका थियौं।”
उनले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने नीति अघि बढाएको र त्यसमार्फत विदेशिएका युवालाई स्वदेश फर्काई कृषि, जलविद्युत् र उत्पादन क्षेत्रमा रोजगार सिर्जना गर्न सकिने धारणा प्रस्तुत गरे ।
“हामीले गल्ती कमजोरी सच्याउँदै आफ्नै वर्गतिर फर्कनुपर्ने देखिएको छ। त्यसैले यो अभियानमार्फत फेरि तपाईंहरूसामु आएका छौं,” उनले भने ।
जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको, बेपत्ता परिवारलाई राहत दिनेगरी सत्य निरूपण तथा बेपत्ता आयोगको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनपछि विशेष सुविधा दिने प्रतिबद्धता व्यक्त गरे ।


















प्रतिक्रिया