काठमाडौं । भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय फिर्ताको माग गर्दै जेनजीको नाममा भोलि हुने भनिएको प्रदर्शनमा समर्थन आउने क्रम जारी रहेको छ । जेनजी प्रदर्शनलाई काठमाडौं महानगर प्रमुख प्रमुख बालेनबाट सहमर्थनको घोषणा भएसँगै समर्थनको बाढी आउन थालेको हो ।
जेन जी प्रदर्शनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वाभाविक बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै जेनजीको प्रदर्शनलाई स्वाभाविक भनेका हुन् । प्रचण्डले सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत रहेको उल्लेख गर्दै सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक भएको जनाएका छन् । उनले प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगर्न चेतावनी समेत दिएका छन् । उनले सञ्जालमा भ्रष्टाचारका विरुद्ध माओवादी केन्द्रको आन्दोलन जारी रहेको कुरा स्पष्ट पारेका छन् ।
आजै नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले पनि बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन् ।
‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।
‘उज्यालो नेपाल’ वत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो ।
त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जेन जीको प्रदर्शनलाई समर्थन जनाउँदै सक्रिय सहभागिता रहने जनाएको छ । नायक पल शाहले प्रदर्शनलाई समर्थन जनाउँदै उनी अभिनित चलचित्र मोहरको तर्फबाट प्रदर्शनमा आउने युवाहरुलाई पानी वितरण गर्ने घोषणा गरेका छन् ।
युरोप साङ्गितिक यात्रामा हाल फिनल्यान्डमा रहेकी गायिका रचना रिमालले भोलिको जेन जी को महाअभियानमा काधमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गित गाउँदै युवाहरुको स्वतन्त्रता, अधिकार र भ्रष्टाचार विरोधी महाअभियानमा सहभागी हुन मन लागेको जनाएकी छन् । उनले भोलिको अभियानमा प्रत्यक्ष सहभागी हुन नसकेपनि त्यसपछिको अन्य अभियानमा आफ्नो सक्रिय सहभागिता रहने उल्लेख गरेकी छन् ।


















प्रतिक्रिया