काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार टेलिफोन वार्ता हुने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताबीचको वार्तामा आगामी फागुनमा हुने निर्वाचनका लागि भारतले उपलब्ध गराउन सक्ने सहयोग, भूकम्पपछिको पुनर्निर्माण, दुवै देशबीचको आपसी मित्रता तथा सहयोगका विषयमा छलफल हुनेछ ।
मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए । त्यही अवसरमा दुवै मुलुकका प्रधानमन्त्रीबीच टेलिफोनवार्ता गर्ने सहमति बनेको हो । भेटका क्रममा राजदूत श्रीवास्तवले मोदीले कार्कीलाई पठाएको बधाई सन्देशसमेत सुनाएका थिए । उनले नेपाल-भारतबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ पार्ने भारतको प्रतिबद्धता पनि दोहोर्याएका थिए ।
मोदीले कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै सामाजिक सञ्जाल र मणिपुरमा भएको एक सार्वजनिक कार्यक्रममा बधाई दिएका थिए । उनले नेपाललाई हिमालयको काखमा बसेको भारतको घनिष्ठ मित्र देशका रूपमा उल्लेख गर्दै, साझा इतिहास र आस्थाले जोडिएको सम्बन्धलाई अझ सुदृढ पार्ने आशा व्यक्त गरेका थिए ।
“नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण हो,” मोदीले भनेका थिए, “नेपालले अस्थिर परिस्थितिमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोच्च स्थानमा राखेर नयाँ इतिहास रचेको छ ।”
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको प्रस्तावमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसलगत्तै मोदीले सामाजिक सञ्जाल एक्समार्फत उनलाई हार्दिक शुभकामना दिएका थिए ।
भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै कार्कीको नेतृत्वले नेपालमा शान्ति र स्थिरतालाई बल पुर्याउने विश्वास व्यक्त गरेको थियो । मन्त्रालयले नेपाललाई “नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदार” को रूपमा उल्लेख गर्दै, भारत निरन्तर नेपालसँग हातेमालो गर्ने प्रतिबद्धता जनाएको थियो ।


















प्रतिक्रिया