काठमाडौं । बडादशैँको अवसरलाई लक्षित गर्दै आजबाट तीनवटा नेपाली चलचित्र एकैदिन प्रदर्शनमा आएका छन् । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’, समीर भट्ट स्टारर ‘बलिदान’ र धीरज मगर अभिनीत ‘माइतीघर’ दर्शकमाझ रिलिज भएका हुन् ।
दशैँको लामो बिदालाई मध्यनजर गर्दै एकैसाथ तीन चलचित्र प्रदर्शनमा आएका हुन् । मल्टिप्लेक्सहरूले गरेको बाँडफाँटअनुसार सबैभन्दा धेरै शो ‘बलिदान’ लाई दिइएको छ भने ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले बराबरी शो पाएका छन् ।
एक्सन ड्रामा ‘बलिदान’ लाई सन्तोष सेनले निर्देशन गरेका हुन् । यसमा समीर भट्टसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनकै प्रमुख भूमिका रहेका छन् ।
सोसल ड्रामा-कमेडी ‘हरिबहादुरको जुत्ता’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत यसमा देखिएका छन् ।
त्यसैगरी, सोसल ड्रामा ‘माइतीघर’ लाई मिलन तामाङले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । यसमा धीरज मगर, केदार घिमिरे, उपासना सिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।


















प्रतिक्रिया