काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव जारी रहेको जनाएको छ । हाल देशभरको मौसम साधारणतया बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग तथा मधेसलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी प्रदेशको तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेस प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गते शुक्रबारदेखि असोज २० गते सोमबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यस अवधिमा पाँच प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेसँगै प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । विशेष गरी बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
त्यसैगरी, बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट तथा आसपासका जिल्लामा ससाना नदी र खोला नालामा आकस्मिक बहावको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


















प्रतिक्रिया