कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासमा भएको बस दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ८५०६ नम्बरको यात्रुबस गएराति करिब २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
अन्दाजी ५०-५५ वर्षका पहाडी मूलका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएकोमा उनको मृत्यु भएको घिमिरेले बताए । मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।
बसमा सवार पाँचजना यात्रु घाइते भएका छन् । उनीहरूको उपचार चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको घिमिरेले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको घिमिरेले बताए ।



















प्रतिक्रिया