१४ असार २०८३, आइतबार | June 28, 2026

उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।

सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ ।”

वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारीसाधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ ।”

उनले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गरे । सोमबार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ ।

ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारीसाधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँचपास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारीमूलक अभियान सञ्चालन गरिरहेको छ ।

वातावरणविद्का अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : २४ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको