११ पुस २०८२, शुक्रबार | December 26, 2025

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन् चर्किँदै गएको छ । यसै सन्दर्भमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था आएको बताएका छन् । उनले क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।

“नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व चयन मात्रै होइन, देशलाई सकारात्मक सन्देश दिनुपर्ने अवस्था छ,” शर्माले भने, “अहिलेको अवस्थामा जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव गर्न सकिने स्थिति छैन । त्यसैले फागुनभन्दा वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुन्छ ।”

महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय सबैले मान्नुपर्ने उल्लेख गर्दै आवश्यक परे महाधिवेशनको मिति केही समय पर सार्न सकिने धारणा व्यक्त गरे ।

यसैबीच पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका आन्तरिक विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित गर्नेभन्दा पनि पार्टीभित्रै छलफल गरेर समाधान खोज्नुपर्ने बताए । उनले भने, “सभापतिले कार्यवाहक सभापतिलाई सबै अधिकार दिनुभएको छ । महामन्त्रीलाई क्रियाशील सदस्यताको व्यवस्थापन गर्ने अधिकार विधानले नै दिएको छ । अब कति समय लाग्छ भन्ने टुंगो लगाएर अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन सकिन्छ। त्यसपछि महाधिवेशन रोकिँदैन, सहज रूपमा अघि बढ्छ ।”

बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आज पनि नेताहरूले आ-आफ्ना धारणा राखिरहेका छन् । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा धारणा राखिसकेका छन् ।

बैठकले पार्टीको आगामी कार्यदिशा, महाधिवेशनको समयसीमा र संगठनात्मक व्यवस्थापनबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ४० बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’