काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा पुरानो भन्दा पनि एजेन्डा, विचार र गन्तव्य महत्वपूर्ण हुने बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै उनले नीतिविहीन र एजेन्डाविहीन समूहलाई ‘नयाँ’को नाममा प्रस्तुत गरेर विकल्प बनाउने प्रयास भ्रम मात्रै भएको टिप्पणी गरेका छन् ।
राजनीतिमा नयाँ शक्ति निर्माणका नाममा भइरहेको गतिविधिप्रति संकेत गर्दै महासचिव पोखरेलले पार्टीको इतिहास पुरानो भए पनि नीति, नेतृत्व र दृष्टिकोण समयअनुसार परिमार्जन हुन सकेमा त्यो पार्टी सधैं सान्दर्भिक र जीवित रहने उल्लेख गरेका छन् । उनका अनुसार नेकपा एमाले यही आधारमा अघि बढिरहेको दल हो ।
“नेकपा एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्व दुवैलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो । यससँग वर्तमानलाई नेतृत्व गर्ने क्षमता मात्र होइन, भविष्यको स्पष्ट दृष्टिकोण पनि छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । “यही कारणले एमालेको जीवन्तता र प्रभावबाट डराएकाहरू नयाँ शक्तिको नाममा एकताबद्ध हुन खोजिरहेका छन्,” उनले थपेका छन् ।
महासचिव पोखरेलले पछिल्लो समय चर्चामा रहेका नयाँ राजनीतिक पात्रहरूतर्फ संकेत गर्दै उनीहरूलाई पनि आलोचनात्मक ढंगले उल्लेख गरेका छन् । “नयाँ भनिएका रवि, बालेन, हर्क साम्पाङ वा कुलमान सबै कुनै न कुनै रूपमा राज्यसत्तामा परीक्षण भइसकेका पात्र हुन्,” उनले लेखेका छन् ।
उनको यो अभिव्यक्ति नयाँ राजनीतिक गठबन्धन र वैकल्पिक शक्तिको चर्चा तीव्र भइरहेका बेला आएको हो । एमाले नेतृत्वले भने स्थायित्व, अनुभव र नीति निरन्तरतामै देशको भविष्य सुरक्षित हुने सन्देश दिन खोजेको विश्लेषकहरूको भनाइ छ ।



















प्रतिक्रिया