१७ पुस २०८२, बिहिबार | January 1, 2026

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास



भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष-२०२६ आजदेखि सुरु भएको छ । नयाँ अंग्रेजी वर्षको अवसरमा भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् ।

विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् ।

केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र वडा नम्बर ८ सिपाडोलको संङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् ।

पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न यहाँ स्वदेशी पर्यटकको घुइँचो लागेको बताए ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ ।

पर्यटन व्यवसायी बकेले भने, ‘रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, व्यवसायीहरु उत्साहित छौँ ।’

सहज पक्की सडकदेखि सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्राको रुट, सर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडकका कारण पनि रानीकोटमा पर्यटक आवागमन सहज भइरहेको छ ।

अङ्ग्रेजी नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको व्यवसायी बकेको भनाइ छ ।

पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि मल्ल राजाहरूले रानीका लागि दरबार बनाएपछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो । यहाँबाट देखिने हिमाल र सूर्योदयले १२ महिना पर्यटकको आकर्षण बढ्न थालेको छ ।

‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथ पनि आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उनले बताए ।

रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल हुन थालेको बताए । पिकनिकदेखि एकरात बस्न आउने पारिवारिक जमघट, विभिन्न निकायका कार्यक्रमलगायत आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनले बताए ।

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका छन् ।

२०२५ को बिदाइ गर्दै २०२६ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटका आकर्षण थप बढाएको होटल व्यवसायी एवं होटल चौतारीका सञ्चालक बद्री माकले बताए । उनले भने, ‘विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाप पनि उस्तै छ । अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।’

पछिल्लो समय सामान्यदेखि फाईभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाप बढेपछि व्यवसायीहरू उत्साहित छन् । यहाँ थप होटल खुल्ने क्रम पनि जारी छ ।

होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजु चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा निकै खुसी थपेको बताउँछन् । यसपटक विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ७ : ५५ बजे

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको

सञ्चारमन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको