बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बिहीबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
साधारणसभाको उद्घाटन सत्रमा एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले नेपाल दुध उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा पुगेको बताएका छन् । उनले डेरी क्षेत्रबाट मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ९ प्रतिशत योगदान रहेको जानकारी गराउँदै दुग्ध क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित भइसकेको बताए ।
वि.सं. २०५५ सालमा स्थापना भएको नेपाल डेरी एसोसिएसनले हाल सातै प्रदेश, ४० जिल्ला र १५० नगर कमिटीमार्फत देशभरका दुग्ध व्यवसायीलाई समेट्दै राष्ट्रिय छाता संगठनका रूपमा काम गरिरहेको भण्डारीले जानकारी दिए । उनका अनुसार दुग्ध क्षेत्रबाट वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन हुँदै आएको छ भने करिब ६ लाख जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।
एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा लुम्बिनी प्रदेश दुग्ध उत्पादनका हिसाबले देशकै अग्रणी क्षेत्र रहेको उल्लेख गरिएको छ ।
प्रदेशमा करिब २ सय डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् भने करिब एक हजार साना तथा घरेलु डेरी व्यवसाय सञ्चालनमा छन् । प्रतिवेदनअनुसार दैनिक करिब १५ लाख लिटर दूध उत्पादन हुने गरेकोमा करिब ५ लाख लिटर मात्र औपचारिक बजारमार्फत खपत भइरहेको छ भने बाँकी १० लाख लिटर अनौपचारिक रूपमा खपत भइरहेको अवस्था छ । यस क्षेत्रबाट करिब एक लाख परिवार आश्रित रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका प्रमुख रमेश आचार्यले देशको अर्थतन्त्र सबल बनाउन डेरी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्दै २०८२ मा नयाँ कार्यविधि लागू गरेको जानकारी दिँदै पाँच वर्ष अवधिको कर्जामा ३ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको बताए ।
नेपाल दुग्ध विकास संस्थान, लुम्बिनी दुग्ध वितरण आयोजना प्रमुख कृष्णप्रसाद अर्यालले हाल दुधको भुक्तानीमा कुनै समस्या नरहेको स्पष्ट पार्दै किसानलाई मंसिर महिनासम्मको सम्पूर्ण भुक्तानी गरिसकिएको बताए । कात्तिकदेखि चैतसम्म दुधको उत्पादन उच्च हुनुपर्ने भए पनि पछिल्लो समय उत्पादन घट्दै गएकोतर्फ उनले चिन्ता व्यक्त गरे ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले कृषिबाट समृद्धि हासिल गर्न युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए । डेरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले नेपाललाई दुधको ‘हब’ का रूपमा विकास गर्दै दुग्धजन्य उत्पादन निर्यातमा जोड दिनुपर्ने धारणा राखे ।
पत्रकार हरिष ढकालले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्न र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्न सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।
साधारणसभाको अवसरमा दुग्ध क्षेत्रको विकासमा योगदान पुर्याएका किसान, उद्योगी, संघसंस्था तथा व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।
नयाँ कार्यसमिति
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा कमलप्रसाद भुषाल, सचिवमा विजय सापकोटा र कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका छन् । सह-सचिवमा लिलाराम भुसाल (एलआर) चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, कासिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा चयन भएका छन् ।



















प्रतिक्रिया