काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका खगेन्द्र सुनारलाई पार्टीले भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ । सुनारको विवादित अभिव्यक्तिलाई लिएर रास्वपाले उनलाई सचेत गराउँदै ध्यानाकर्षण गराएको हो ।
शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि रास्वपाले ध्यानाकर्षण भएको जनाएका छन् । रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना मागिसकिएको बुर्लाकोटीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा सुनारले सार्वजनिक रूपमै आफू शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको प्रष्ट पारिसकेको जनाइएको छ । ‘सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मालोचना समेत गर्नुभएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको समेत बुर्लाकोटीले विज्ञप्तिमा लेखेका छन् ।
रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान लाई आफ्नो मूल मर्म मानेको भन्दै बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सधैँ कटिबद्ध छौँ ।’
रास्वपाका उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र नभई भोलिको संसद्मा संयमित, मर्यादित र देशको विधि–विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेछन् भन्नेमा विश्वस्त रहेको उनले जनाएका छन् ।

















प्रतिक्रिया