६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु



बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज धाम निर्माण तथा सामाजिक सेवाको भावना सुदृढ बनाउने उद्देश्यसहित श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ सुरु भएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा फागुन ६ गतेदेखि १३ गतेसम्म महायज्ञ सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।

महायज्ञको मुख्य उद्देश्य परोपकार कुञ्ज धामको भौतिक संरचना विस्तार गर्नुका साथै समाजमा धार्मिक चेतना अभिवृद्धि गर्नु रहेको छ । आयोजकका अनुसार उक्त धामलाई भविष्यमा सामाजिक सेवा, ध्यान तथा आध्यात्मिक साधनाको केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । कार्यक्रममा स्थानीय समाजसेवी, धार्मिक संघसंस्था, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै खेलराज पाण्डेयले धार्मिक तथा परोपकारी अभियानले समाजमा सकारात्मक सोच, सहकार्य र सद्भावको भावना बलियो बनाउने बताए। उनले धर्म केवल पूजा–पाठमा सीमित नभई मानव सेवाको मार्गसमेत देखाउने उल्लेख गर्दै परोपकार कुञ्ज धाम निर्माणपछि शिक्षा, स्वास्थ्य सचेतना, ध्यान तथा सामाजिक सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख पाण्डेयले यस्ता सकारात्मक सामाजिक तथा धार्मिक पहलमा उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले स्थानीय तह, धार्मिक संस्था र नागरिकबीचको सहकार्यबाट मात्रै दिगो सामाजिक विकास सम्भव हुने धारणा राखे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रवक्ता शिव रानाले धर्म र सामाजिक सेवा एक अर्काका पूरक भएको उल्लेख गरे। उनले धार्मिक कार्यक्रममार्फत संकलित सहयोगलाई पारदर्शी रूपमा समाजका विपन्न वर्गको हितमा प्रयोग गर्नुपर्ने बताए । यस्ता कार्यक्रमले समाजमा एकता, सहकार्य र सहयोगको संस्कार विकास गर्ने उनको भनाइ थियो । उनका अनुसार धार्मिक अभियान केवल आस्था व्यक्त गर्ने माध्यम मात्र नभई सामाजिक रूपान्तरणको महत्वपूर्ण आधारसमेत बन्न सक्छ ।

कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ नेपालका जिल्ला अध्यक्ष योगगुरु लगायत विभिन्न धार्मिक गुरु, समाजसेवी तथा स्थानीय अगुवाहरूले परोपकारलाई साँचो धर्मको रूपमा व्याख्या गरे । उनीहरूले परोपकार कुञ्ज धाम निर्माणले युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने, सामाजिक सेवामा सहभागी गराउने र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

उक्त केन्द्र स्थापना भएपछि रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, ध्यान तथा नैतिक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

महायज्ञका परिकल्पनाकार तथा अध्यक्ष भागवत भाष्कर गुरूदेव कमलनयन गौतमको मुखारविन्दबाट संगीतमय प्रवचनसहित श्रीमद् भागवत कथाको वाचन सुरु भएको छ । आयोजकका अनुसार महायज्ञ अवधिभर कथा श्रवण, भजन–कीर्तन तथा विशेष पूजा कार्यक्रम सञ्चालन गरिनेछन् ।

कार्यक्रममा विभिन्न २४ समूहद्वारा प्रस्तुत गरिएका झाँकीहरू आकर्षणको केन्द्र बनेका छन् । ती झाँकीहरूले धार्मिक कथाहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्दै भक्तजनलाई आध्यात्मिक अनुभूति गराइरहेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ७ : १७ बजे

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको