पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का पूर्व प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य पुनः प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का लागि उम्मेदवार बनेर मतदाताको घरदैलोमा व्यस्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवार बनेका आचार्यले विगतमा सुरु गरेका अधुरा योजना पूरा गर्ने र पाल्पाको समग्र विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ३१ हजार १०३ मत प्राप्त गर्दै विजयी बनेका आचार्यले आफ्नो कार्यकालमा संसद्को विशेष समयमा पाल्पाका स्थानीय समस्या निरन्तर उठाएका थिए । विशेषगरी नीतिगत सुधार, न्यायोचित बजेट वितरण तथा सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले पटक-पटक प्रतिनिधिसभा बैठकमार्फत सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
उनले विशेषगरी रामपुर-मित्याल सडक खण्डको स्तरोन्नतिका विषयलाई प्रमुख रूपमा उठाएका थिए । उक्त सडक राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने र यस क्षेत्रबाट कृषि उत्पादन, गेडागुडी, अदुवा, अम्लिसो तथा तरकारीजस्ता वस्तु निर्यात हुने भएकाले सडकको स्तरोन्नति आवश्यक रहेको उनले संसद्मा उल्लेख गरेका थिए । उनले उक्त सडकलाई बहुवर्षीय ठेक्कामार्फत स्तरोन्नति गरी नियमित मर्मतसम्भारको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी, आर्यभञ्ज्याङ-रामपुर सडक, बाँसटारी-झडेवा सडक, दुम्बीवास सडक, निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकाका पहुँचमार्ग तथा खानी पहुँचमार्गहरूको मर्मतसम्भार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता पनि उनले संसद्मा उठाएका थिए । यी सडकको स्तरोन्नतिले स्थानीय बासिन्दाको दैनिक जीवन, शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो ।
प्रतिनिधिसभा विघटनपछि सुरु गरिएका कतिपय योजना अधुरै रहेकाले ती योजनालाई पूर्णता दिन पुनः निर्वाचनमा होमिएको आचार्यले बताएका छन् । एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन र पाल्पाली जनताको निरन्तर सेवा गर्न आफू पुनः उम्मेदवार बनेको उनको भनाइ छ ।
यसअघि २०७४ सालको प्रदेशसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ (प्रदेशसभा ‘ख’) बाट निर्वाचित भएका आचार्यले प्रदेशसभा सदस्यका रूपमा पनि उल्लेखनीय योगदान दिएका थिए । उनले सडक सञ्जाल विस्तार, पुल निर्माण तथा ‘एक घर, एक खानेपानी धारा’ कार्यक्रममार्फत स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनको कार्यकालमा लुम्बिनी प्रदेशमा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम सञ्चालन गरिएको थियो, जसले कृषि उत्पादन वृद्धि, आर्थिक समृद्धि तथा स्थानीय जनजीवनमा सुधार ल्याउने लक्ष्य लिएको थियो । उक्त कार्यक्रम तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको ‘समृद्ध प्रदेश, खुसी लुम्बिनीबासी’ अभियानअन्तर्गत सञ्चालन गरिएको थियो ।
आचार्यले आगामी कार्यकालमा अधुरा पूर्वाधार योजना पूरा गर्ने, सडक सञ्जाललाई थप विस्तार गर्ने तथा पाल्पाको समग्र आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।


















प्रतिक्रिया