१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

विष्णु पौडेलको प्रतिवद्धताले मतदाता आर्कषण, पूरा योजना पूरा गरी नयाँ कार्यान्वयनमा लैजान आग्रह



बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार बनेका विष्णु पौडेलले सार्वजनिक पुराना योजनाको पूर्णतासँगै दीर्घकालीन नयाँ विकासका प्रतिवद्धताले मतदातामा थप आकर्षण बढेको छ । उनले सार्वजनिक गरेका २० बुँदे चुनावी एजेण्डालाई आधार मानेर चुनावी प्रतिस्पर्धा थप तातिएको हो ।

उनले आफूले बोलेका होइन, अघिल्ला कार्यकालमा काम गरेर देखाएका योजनामात्रै समेटिएको दाबी गर्दै पौडेलले भौतिक पूर्वाधार, आर्थिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, पर्यटन, ऊर्जा र सामाजिक सुरक्षासम्मका विषयलाई समेट्ने गरी विस्तृत प्रतिबद्धता अघि सारेका छन् ।

पौडेलको २० बुँदे एजेण्डाको केन्द्रमा ‘वृहत् बुटवल’ अवधारणा राखिएको छ । पश्चिम नेपालकै व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको बुटवललाई आधुनिक सहरमा रूपान्तरण गर्दै त्यसको प्रभाव रूपन्देहीका ग्रामीण भेगसम्म विस्तार गर्ने लक्ष्य उनले अघि सारेका छन् । बढ्दो सहरीकरणसँगै ट्राफिक व्यवस्थापन, ढल, खानेपानी, हरियाली, फोहोर व्यवस्थापन र आवासीय योजनालाई एकीकृत रूपमा अघि बढाउने प्रतिबद्धता उनको एजेण्डामा उल्लेख छ ।

भौतिक पूर्वाधारतर्फ पौडेलले सबैभन्दा महत्त्वपूर्ण योजनाका रूपमा कालीगण्डकी-तिनाउ पथान्तरणलाई राखेका छन् । यो आयोजना सम्पन्न भए रूपन्देहीसहित लुम्बिनी क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान हुने उनको दाबी छ । त्यस्तै बुटवल-पोखरा सडक स्तरोन्नति गरी दुई घण्टामा पोखरा पुग्ने अवस्था बनाउने, बुटवल-नारायणघाट सडकलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, बुटवल-सुनौली अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई व्यवस्थित बनाउने एजेण्डा पनि समेटिएको छ ।

औद्योगिक विकास र रोजगारी सिर्जनालाई पौडेलले आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडोर र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग स्थापना गरेर युवालाई स्वदेशमै रोजगारी दिन सकिने उनको तर्क छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सीप र पुँजीमा आधारित उद्यमतर्फ आकर्षित गर्न सहुलियत ऋण, तालिम र बजार सुनिश्चितताको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

कृषि क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण पौडेलको अर्को मुख्य एजेण्डा हो । सिँचाइ सुविधा विस्तार, कृषिमा यान्त्रिकीकरण, उत्पादनको उचित मूल्य, भण्डारण र प्रशोधन केन्द्र स्थापना गरेर किसानको आम्दानी बढाउने योजना उनले अघि सारेका छन् । रूपन्देहीको उर्वर भूमिलाई व्यावसायिक खेतीसँग जोड्दै कृषि आधारित उद्योग विकास गर्ने लक्ष्य पनि उनको घोषणापत्रमा उल्लेख छ ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार र सीपमूलक शिक्षामा जोड दिने पौडेलको प्रतिबद्धता छ । सामुदायिक विद्यालयको भौतिक संरचना सुधार, शिक्षक तालिम, प्रविधिमैत्री शिक्षा र प्राविधिक शिक्षालाई विस्तार गर्दै स्थानीय आवश्यकतासँग शिक्षा जोड्ने उनको भनाइ छ । उच्च शिक्षाका लागि रूपन्देहीमै सुविधा विस्तार गरी विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता कम गर्ने लक्ष्यसमेत उनले राखेका छन् ।

स्वास्थ्य क्षेत्रको सुधार पौडेलको अर्को प्राथमिकता हो । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सहज रूपमा उपलब्ध गराउने, अस्पतालको क्षमता विस्तार, विशेषज्ञ सेवा स्थानीयस्तरमै पुर्‍याउने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै मोबाइल स्वास्थ्य सेवा र टेलिमेडिसिनको अवधारणासमेत उनले अघि सारेका छन् ।

ऊर्जा र पर्यटन विकासलाई पनि पौडेलले आर्थिक समृद्धिसँग जोडेर हेरेका छन् । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई व्यवस्थित गर्दै उद्योग र घरायसी प्रयोगका लागि गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्ने उनको भनाइ छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवर्द्धन गर्दै लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजनासमेत उनको एजेण्डामा समावेश छ ।

सामाजिक सुरक्षाको सवालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित र विपन्न समुदायलाई लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पौडेलले जनाएका छन् । सामाजिक सुरक्षा भत्तालाई समयानुकूल बनाउँदै सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउने उनको भनाइ छ ।

सुशासन र पारदर्शितालाई पनि पौडेलले चुनावी एजेण्डाको आधार बनाएका छन् । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा डिजिटल प्रणाली, छिटोछरितो सेवा र जनप्रतिनिधिको जवाफदेहितालाई मजबुत बनाउने उनले बताएका छन् । विकास योजनामा जनसहभागिता र निगरानी बढाएर ‘कागजमा होइन, मैदानमा देखिने विकास’ गर्ने दाबी उनको छ ।

पौडेलले आफ्नो २० बुँदे एजेण्डालाई चुनावी नारामा सीमित नराखी अघिल्ला कार्यकालमा सम्पन्न तथा सुरु भएका आयोजनासँग जोडेर प्रस्तुत गरेका छन् । यसले उनको एजेण्डा व्यवहारिक र कार्यान्वयनयोग्य रहेको सन्देश दिन खोजिएको देखिन्छ । उनका समर्थकहरू यसलाई अनुभवी नेताको ‘रोडम्याप’ मानिरहेका छन् भने विपक्षी दलले कार्यान्वयन क्षमतामाथि प्रश्न उठाइरहेका छन् ।

रूपन्देही-२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा विकास, रोजगारी र सुशासन मतदाताका मुख्य चासोका विषय बनेका छन् । यस्तो अवस्थामा विष्णु पौडेलले अघि सारेको २० बुँदे एजेण्डाले मतदातालाई कत्तिको विश्वस्त बनाउँछ भन्ने प्रश्न निर्णायक हुने स्थानीयको भनाइ छ । तर उनले प्रस्तुत गरेको विकासको खाकाले यो निर्वाचनलाई व्यक्ति र दलभन्दा माथि उठेर ‘एजेण्डाको बहस’तर्फ उन्मुख गराएको बुटवल ११ का मतदाता नबिना घिमिरे बताउँछिन् ।

घरदैलोदेखि कोणसभामा पौडेललाई मतदाताको आग्रहः हाम्रा माग सम्बोधन होस्

आइतबार पौडेलले तिलोत्तमाको ३ नम्बरमा घरदैलो गरको छन् । त्यसैगरी बुटवल १० वडा सम्पर्क र बुटवल ६ को वडा सम्पर्क कार्यालयमा मतदातालाई भेट गरेर आफूले अघि सारेका प्रतिवद्धता पूरा गने जनाएका छन् । त्यसैगरी श्रृगैश्वरधाममा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट, तिलोत्तमा ४ मा घरदैलो गरेका छन् । श्रृगैश्वरधाममा रहेका ज्येष्ठ नागरिकसँग पौडेलले एमाले नेतृत्वमा रहेको सरकारले अघि सारेका वृद्धभत्ता र सामाजिक सुरक्षा कार्यक्रमले ठूलो राहत दिएको र आगामी दिनमा जारी राख्ने जनाए ।

पौडेल तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा चुनावी अभियानमा व्यस्त देखिए । बिहान तिलोत्तमा-३ मा घरदैलो कार्यक्रमबाट सुरु भएको अभियान दिउँसो तिलोत्तमास्थित श्रृंगेश्वर धाममा ज्येष्ठ नागरिक भेटघाट र तिलोत्तमा-४ मा घरदैलोपछि ड्राइभरटोल चोकको कोणसभासम्म पुगेको थियो ।

तिलोत्तमा–३ का स्थानीय मतदाता सीता अधिकारीले घरदैलोका क्रममा भनिन्, “विष्णु पौडेल पटक-पटक मन्त्री हुँदा यहाँका सडक, खानेपानी र विद्युत् विस्तारमा काम भएको हामीले देखेका छौं । अब अधुरा योजना पूरा हुने अपेक्षा गरेका छौं ।” अर्का मतदाता रामकृष्ण खनालले भने, “राजनीतिमा अनुभव भएका व्यक्ति फेरि निर्वाचित भए स्थिरता र विकास दुवैलाई निरन्तरता मिल्छ भन्ने विश्वास छ ।”

श्रृंगेश्वर धाममा आयोजित ज्येष्ठ नागरिक भेटघाट कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक नन्दलाल न्यौपानेले भने, “हामी वृद्धवृद्धाको सामाजिक सुरक्षाभत्ता समयमै पाउनुपर्छ, स्वास्थ्य सेवा सहज हुनुपर्छ । यसतर्फ उहाँको ध्यान जाओस् भन्ने चाहना छ ।” अर्की ज्येष्ठ नागरिक कमला भट्टराईले थपिन्, “ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र नियमित स्वास्थ्य शिविर आवश्यक छ, उम्मेदवारले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।”

तिलोत्तमा-४ मा घरदैलो गर्दै पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका थिए । ड्राइभरटोल चोकमा आयोजित कोणसभामा बोल्दै उनले विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई मुख्य एजेण्डा बनाएका छन् । उनले भने, “रुपन्देही-२ लाई आधुनिक कृषि, उद्योग र पूर्वाधारका माध्यमबाट समृद्ध बनाउने हाम्रो स्पष्ट योजना छ ।

अधुरा सडक, सिँचाइ र खानेपानीका योजना पूरा गर्नु मेरो प्राथमिकता हो । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइनेछ । ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षालाई अझ प्रभावकारी बनाइनेछ । स्थिर सरकार र अनुभवी नेतृत्वमार्फत विकासले गति लिन्छ भन्ने विश्वासका साथ तपाईंहरूको मत माग्न आएको छु ।” दिनभरको कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो। एमाले कार्यकर्ताहरूले घरदैलो र कोणसभामा उत्साहजनक उपस्थिति जनाएको जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ६ : ५८ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार