नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले यसपालीको निर्वाचन विगत भन्दा फरक रहेको भन्दै योग्य उम्मेदवारलाई छान्ने अवसर नगुमाउन मतदातालाई आग्रह गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा शनिबार (आज) बिहान घरदैलोका क्रममा उनले जेन–जी आन्दोलनपछि कांग्रेसले मात्रै आफुलाई परिवर्तन गरेको दाबी गर्दै अबको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।
२००७ सालदेखी हालसम्म नेपाली कांग्रेसले देशमा परिवर्तनको नेतृत्व गरेको र भर्खरै भएको जेन–जी आन्दोलनपछि पनि कांग्रेसले नै आफुलाई परिवर्तन गरेको उनले बताए ।
‘जेन–जी आन्दोलनपछि कांग्रेसले आफ्नो नेतृत्व मात्रै परिवर्तन गरेन, नीति पनि परिवर्तन गरेर यो चुनावमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६ ठाउँमा म जस्ता युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएर गतिलो उदाहरण प्रस्तुत गरेको छ,’ कोइरालाले भने, ‘कांग्रेस बद्लिएर आएको छ, देश बदल्ने अठोट लिएको कांग्रेसलाई यसपटक आफ्नो मत दिएर योग्य र सक्षम उम्मेदवार विजयी गराउनुहोस्, विकास र समृद्धि ल्याउने मौका दिनुहोस् ।’
बाँकेको क्षेत्र नम्बर २ मा स्वर्गिय सुशिल कोइरालाले विगतमा ठुला विकासका आयोजनाहरु ल्याएको स्मरण गर्दै स्वर्गिय कोइरालाले छाडेर गएका सपनालाई साकार पार्न आफुले सच्चा जनप्रतिनिधि भई काम गर्ने प्रतिवद्धता जनाए । घरदैलोमा पुग्दा आफुप्रति मतदाताहरुको एकदमै उत्साह रहेको पाइएको उनले बताए । ‘मलाई अहिले जति स्वागत र सत्कार गर्नु भएको छ, यो मायालाई यही फागुन २१ गतेका दिन आफ्नो अमुल्य मत दिएर साकार पार्नुहोस्,’ कोइरालाले अगाडी थपे ।
घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा नम्बर १३ का वडा सभापति शालिकराम शाह, नेपाली कांग्रेसका युवा नेता बीरेन्द्रबहादुर शाह, गोपाल भट्टराई, सत्यनारायण यादव, ओमप्रकाश चौहान, वडा उपसभापति भुषणकुमार शाह, कांग्रेस नेतृ रत्ना राणा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो क्रममा नेपालगन्ज–१३ अन्तरगत पर्ने बुलबुलिया, घसियारन टोल, रंगशाला टोल लगायत स्थानमा पुगेर मतदातालाई भेटघाट गरिएको थियो ।


















प्रतिक्रिया