९ चैत्र २०८२, सोमबार | March 23, 2026

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति



काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।

आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भइ गत मङ्सिर २५ गते म्याद सकिएको थियो । सो कामका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सडक आयोजनाले जनाएको छ । कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठका अनुसार समग्रमा ६५ प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ ।

दोस्रो खण्डअन्तर्गत सूर्यविनायक–साँगामा भने ५५ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको यस सडकखण्डको पलुबजार क्षेत्रमा गत मङ्सिर तेस्रोसाता स्तरोन्नति सुरु गरिएको थियो । आयोजनाकाअनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानमा सडक तथा अन्य संरचना भत्काउने काम भइरहेको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ ।

सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माण भइरहेको छभने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती तथा भिर भएकाले काम गर्न केही अफ्ठ्यारो भएको छ ।

यस सडकखण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अन्जु परियारले बताए । उनका अनुसार अन्य दुई पुलमा डिजाइनको प्रारम्भिक चरणमा स्थानीय तथा जनप्रतिनिधिले विभिन्न माग राखी अवरोध गरेकाले डिजाइन ढिला भएको हो । हाल ती समस्या समाधान भइसकेकोले डिजाइन भइसकेको छ । अब चाँडै पुल निर्माणको तयारी भइरहेको उनको भनाइ छ ।

चीनसँगको छोटोदूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा सवारी चाप बढेको हो । यही राजमार्गमा हाल कोटेश्वरबाट लामा–छोटा दुरीका सवारी मात्रै दैनिक दुई हजार पाँच सयभन्दा बढी छुट्ने गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : २० बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा