२५ चैत्र २०८२, बुधबार | April 8, 2026

गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह



कैलाली । जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल रु चार हजारमा गहुँ बेचेका किसान यस वर्ष करिब रु दुई सय कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल रु तीन हजार ८०० को हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ ।

किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । “गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ”, उनले भने ।

टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन् । केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ । अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ ।

टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल रु चार हजार २०० का दरले चार क्विन्टल गहुँ खरिद गरेका छन । गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गरेका उनलाई यस वर्षको मूल्य ठीकै लागेको बताउँछन । “गत वर्ष पनि यही मूल्यमा किनेको थिएँ, यस वर्ष मूल्य बढ्ला भनेर समयमै किन्न आएको थिएँ, पोहोरकै मूल्यमा पाएँ”, उनले भने ।

टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल रु तीन हजार ८०० सम्ममा खरिद गर्ने गरेको बताए । “राम्ररी सफा नगरेको गहुँ रु तीन हजार ६०० मा खरिद गर्छौँ, गुणस्तर हेरेर रु तीन हजार ९०० सम्म पनि दिन्छौँ”, उनले भने ।

खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगन्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब रु चार हजारमा बिक्री हुने गरेको छ । ठकुल्लाले हालसम्म चार सय क्विन्टल गहुँ प्रतिक्विन्टल रु चार हजारका दरले बिक्रीका लागि नेपालगन्ज पठाइसकेका छन ।

पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलले किसानले अहिले गहुँ बिक्रीका लागि ल्याउन थालेको बताए । “यस वर्ष पानी र हुरीबतासले नपाक्दै गहुँ ढालेकाले सानो दाना र माटो मिसिएको गहुँ बिक्रीका लागि आएको छ”, उनले भने, “गत वर्ष प्रतिक्विन्टल रु चार हजार २०० सम्ममा खरिद गरेको थिएँ । यस वर्ष रु तीन हजार ८५० देखि रु तीन हजार ९०० सम्ममा खरिद गरिरहेको छु ।”

यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन । समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन् ।

गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । विगतमा हरेक वर्ष वृद्धि गर्दै आएको समर्थन मूल्य यस वर्ष नतोकिँदा किसानले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ ।

टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकका अनुसार गहुँको समर्थन मूल्य समयमै तोकिएमा किसानलाई राहत मिल्नेछ । “समयमै समर्थन मूल्य तोकिएमा किसानले घाटामा बिक्री गर्नुपर्दैन र बिचौलियाबाट ठगिने सम्भावना पनि कम हुन्छ”, उनले भने, “यस वर्ष भने मिल सञ्चालक र खरिदकर्ताले आफैँ मूल्य निर्धारण गरेका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन् ।”

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : १२ बजे

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल

राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ

काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे