१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित



म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ ताकममा कालोपत्र सुरु गरिएको छ । धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति गर्ने योजनाअन्तर्गत धवलागिरि गाउँपालिकामै पहिलोपटक कालोपत्र गर्न लागिएको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँका अनुसार ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एक लेनमा ‘प्राइमकोड’ (बिटुमिन) बिछ्याउन थालिएको छ । “ग्राभेलमाथि राखेको प्राइमकोड सुकेपछि अर्को चरणमा फेरि बिटुमिन बिछ्याउँछौँ र तेस्रो चरणमा बिटुमिनसँग चिप्स मिसाएर सडकमा बिछ्याइनेछ,” उनले भने, “६ किलोमिटर दूरीको यो आयोजना अहिले सम्पन्न हुने चरणमा पुगेको छ ।”

पूर्वाधार विकास कार्यालयका अनुसार यस योजनामार्फत हाल ९०० मिटर दूरीमा दुई लेनको कालोपत्र गरिँदै छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम भइरहेको छ । यस आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले जानकारी दिए ।

२०८१ जेठ २० गते रामसागर बीके एसकेबीएस धवलागिरि जेभीले १४ करोड ६१ लाख रुपैयाँमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले हाल संरचना निर्माण, बेस र सब-बेस बिछ्याउने काम सकेको छ । गौथली भीरलगायतका अप्ठ्यारो स्थानमा ढलान गरिएको छ भने सडकलाई ८ मिटर फराकिलो बनाउँदै नाली र पर्खाल निर्माण गरिएको छ ।

विसं २०६६ मा सडक पुगेको धारापानी खण्ड धवलागिरि गाउँपालिकाका ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने मुख्य मार्ग हो । गाउँमै पहिलोपटक कालोपत्र सुरु भएपछि स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष अशोक खत्रीले बताए । निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्रै काम सक्ने प्रतिबद्धता जनाएको छ ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीका अनुसार यसै सडकअन्तर्गत दरवाङ-धारापानी (७ किमि) र मच्छिम-मुना (४ किमि) खण्डमा अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलानका लागि ५८ करोड ८० लाख ५३ हजार रुपैयाँको अर्को ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । गत असारमा भएको २७ महिने उक्त सम्झौताले म्याग्दीका मंगला र धवलागिरि गाउँपालिकासहित बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा-काठमाडौं आउजाउ गर्न ५० किलोमिटर छोटो पर्ने उनले बताए ।

धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी र ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरासम्म गत फागुनमै सडक सञ्जाल जोडिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ८ : ०० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति