काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ । घरबारी र तल्लोबारी गरी सात बोटमा बुद्धचित्त लटरम्म फले पनि गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उहाँ चिन्तित छन् ।
गत साल सोही बोटबाट करिब रु तीन लाख आम्दानी गरेकामा यसपालि दाना पोहरभन्दा बढी नै फले पनि व्यापारीले त्यति नै मूल्य नदिने उनी बताउँछन् । उनी भन्छन्, “यसपालि असिना–पानी’ ले बुद्धचित्त रूखमा क्षति पु¥यायो, दानामा दाग लगेका छन्, राम्रै हुँदैन भनेकाले यसपालि आम्दानी घट्ला १” सात वर्षअघि राउतले रोपेका ती बुद्धचित्तका बोटले तीन वर्षदेखि उत्पादन दिन थालेका हुन् । “बर्सेनि उत्पादन भने बढ्दै गएको छ”, राउतले भने, “जेठ अन्तिमतिर दाना छिप्पिने भएकाले गाउँमा व्यापारी डुल्न थालिसकेका छन् ।”
छिमेकी कृष्णबहादुर राउतलाई पनि उस्तै चिन्ता छ । “यसपालि बुद्धचित्त व्यापारीले जति दिए पनि चित्त बुझाउनुपर्ने बाध्यता छ”, उनले भने । उनको पनि असिनाका कारण तीन बोटमा फलेको बुद्धचित्तको अधिकांश दानामा कालो दाग लागेको छ । अर्का किसान गुञ्जबहादुर लामा पनि व्यापारीले बुद्धचित्त हेर्न आउँछु भनेकाले बैना लिने सोचमा हुनहुन्छ । घरबारीमा चार बोटमा फलेको उनको बुद्धचित्त घरमै व्यापारी आएर लैजान्छन् । लामा भन्छन्, “यसपालि भने व्यापारीले गत वर्षको झैँ भाउ नपाउने भनेका छन्, यसपालि घाटा लाग्ने भयो ।”
धार्मिक कार्यमा प्रयोग हुने बुद्धचित्तका दाना विशेषगरी बौद्ध धर्मावलम्बीले जप गर्न तथा हात र गलामा लगाउन प्रयोग गर्छन् । रोशी गाउँपालिको २, ३, ४ र ५ नं वडाका किसानले व्यावसायिक रूपमै बुद्धचित्तको खेति गर्दै आएका छन् । यस वर्ष असिना–पानीले बुद्धचित्तको दानामा असर पु¥याएपछि किसान चिन्तित छन् । गत साल चार बोटबाट रु तीन लाख आम्दानी गरेका साँझकोटकै दीपक राउतले यसपालि बुद्धचित्तको गुणस्तरमा गिरावट हुने बताए । उनले यसपालि थप तीन बोटले उत्पादन दिन थालेकाले व्यापारीले आफूलाई बोटमै मूल्य गरेर बैना दिन आउने आश्वासन दिएको बताए ।
बुद्धचित्त काभे्रपलाञ्चोकको तेमाल क्षेत्रमा पनि वर्षौंदेखि उत्पादन हुँदै आएको छ । विशेषगरी छिप्पिएको साना दाना तथा कम ‘मुखे’को हिसाबले मूल्य निर्धारण गर्ने गरिएको छ । राम्रो फल्ने रूखका दाना चोरेर लैजाने भएकाले कतिपय किसानले सुरक्षाका लागि ‘पाले’ समेत राख्ने गर्दै आएका छन् । तेमाल क्षेत्रको चापाखोरी, मेच्छे, बोल्दे, कानपुरमा बुद्धचित्तको व्यावसायिक खेती हुँदै आएको छ ।
रोशी–५ सिपालीस्थित नागबेलीमा दुई वर्षअघि ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रूख नै अज्ञात समूहले काटिदिएका थिए । जिल्लाको सबैभन्दा महँगो कहलिएको उक्त रूख काटिएको ४ वर्षअघि लुटिएको पनि थियो । विसं २०७७ असार १२ मा करिब जना मुखुण्डोधारीहरूले माला कुर्न बसेका १५ जनालाई कब्जामा लिएर उक्त बोटका चार बोरा माला लुटेर भागेका थिए । त्यसबेला तामाङले रु ९० लाखमा बुद्धचित्तको दाना बिक्री गर्न बैनासमेत लिएका थिए । घटनाको केही समयपछि रूख काट्नेमध्ये केहीलाई पक्रेर प्रहरीले मुद्दा समेत चलाई थुनामा राखेको छ ।
प्रतिमाला रु पाँच हजारदेखि रु पाँच लाखसम्म बिक्री हुने बुद्धचित्त जोगाउन केही किसान रातभरि बोटमुनि नै सुत्नेसमेत गरेका छन् । पछिल्लो समय बुद्धचित्तको दाना र माला निकासीमा प्रहरीले सहयोग गर्दै आए पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्दै आएको बताउँछन् । कहिलेकाहीँ दाना जोगाउन मुस्किल पर्न थालेपछि समयअगावै टिपेर पठाइहाल्ने गर्नुपरेको तेमालका युद्ध लामाले बताए । बुद्धचित्तको दाना र माला काठमाडौँको बौद्ध र भारतको बोधगयासम्म पुग्ने गरेको स्थानीय व्यापारी बताउँछन् ।
यहाँको बुद्धचित्त मालाको बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएपछि केही वर्षदेखि किसान तथा व्यवसायी पनि उत्साहित भएर यस खेतिप्रति आकर्षित भएका छन् । कतिपयले किसानले परीक्षणस्वरुप एक÷दुई वटा बोट रोपेको पाइन्छ । ठूलो परिमाणमा बुद्धचित्त सङ्कलन तथा खरिद–बिक्रीका लागि स्थानीय तहमा उल्लिखित कर तिर्नुपर्ने प्रावधान बनाइएको छ ।
केही वर्षको तथ्याङ्कले काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक करिब रु २० करोड बराबरको बुद्धचित्तको कारोबार हुने गरेको देखाएको छ । बुद्धचित्तको कारोबारमा भने केही चिनियाँ नागरिकले स्थानीयस्तरका नेपाली व्यापारीमार्फत खरिद गर्ने गरेका छन् । रासस



















प्रतिक्रिया