भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य रोजाइ बन्न थालेको छ । कम मिहिनेतमा राम्रो आम्दानी हुने र एकपटक लगाएपछि वर्षौँसम्म उत्पादन दिने भएपछि यहाँका किसानले अन्नबाली छाडेर सुन्तला बगान विस्तार गर्न थालेका हुन् ।
स्थानीय किसानले अहिले बारी तथा पाखो जमिनको उपयोग गर्दै व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन् । सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रण गर्न सके सुन्तलाबाट दीर्घकालीन आम्दानी लिन सकिने भएपछि युवा पुस्ता समेत यसप्रति आकर्षित भएका छन् ।
टेम्केमैयुङ-२ का वडासदस्य जीवन राईका अनुसार छिनामखुका किसानले सुन्तला बिक्रीबाटै वार्षिक १ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । “बगानको आकार र व्यवस्थापनका आधारमा किसानको कमाइ फरक-फरक छ,” वडासदस्य राईले भने, “पहिले घरायसी प्रयोजनका लागि मात्रै खेती गर्नेहरू पनि अहिले व्यावसायिक रूपमा अघि बढेका छन् । यो यहाँका बासिन्दाको भरपर्दो आर्थिक स्रोत बनेको छ ।”
वडाका बारताङ, छाम्लाखा, कोटाचुङ, राईखीम, ठेवा, ठेवा, रिठाबोटे, रातोमाटे र देवीथान लगायतका टोलहरूमा सुन्तलाको व्यावसायिक उत्पादन बढी हुने गरेको छ । यहाँ उत्पादित सुन्तला गुणस्तरीय हुने भएकाले बजारमा माग उच्च छ। गाउँसम्मै सडकको पहुँच पुगेकाले खरिदका लागि ठेकेदारहरू सिधै किसानको बगानमै पुग्ने गरेका छन् । जसका कारण किसानलाई बजार खोज्ने झन्झट छैन ।
सुन्तलाको कमाइले घरखर्च चलाउन, बालबालिका पढाउन र स्वास्थ्योपचार गर्न निकै सहज भएको स्थानीय किसान रुद्रबहादुर विष्टले बताए । कतिपय किसानले सुन्तलाको आम्दानीलाई अन्य कृषि व्यवसायमा समेत लगानी गर्न थालेका छन् ।
वडाको प्रोत्साहन, रोगकीराको चुनौती सुन्तलाखेतीको बढ्दो सम्भावनालाई मध्यनजर गर्दै वडा कार्यालयले पनि यसलाई प्राथमिकतामा राखेर विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । वडाध्यक्ष बालचन्द्र राईका अनुसार किसानलाई उन्नत जातका बिरुवा वितरण, प्राविधिक सहयोग, तालिम तथा बगान व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम प्रदान गरिँदै आएको छ ।
“हाम्रो वडाको तल्लो भेग सुन्तला उत्पादनका लागि निकै अनुकूल छ,” वडाध्यक्ष राईले भने, “सुन्तलाखेतीले बाँझो जमिनको सदुपयोग त भएको छ नै, स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरेको छ ।”
छिनामखु क्षेत्रमा सुन्तलाखेतीले आर्थिक कायापलट गरिरहे पनि पछिल्लो समय केही प्राविधिक चुनौती देखिएका छन् । बोटमा पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो दाग देखिने र बोट क्रमशः सुक्दै जाने समस्याले किसान चिन्तित छन् ।
कृषि प्राविधिकहरूका अनुसार समुद्री सतहबाट करिब ८ सयदेखि १५ सय मिटर उचाइसम्मको क्षेत्र सुन्तलाखेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ । छिनामखुको भूगोल, माटो र तापक्रम सुन्तलाका लागि अनुकूल रहेकाले भविष्यमा यहाँको आर्थिक सम्भावना अझ बलियो हुने स्थानीय बताउँछन् ।
गाउँमा सबैतिर सुन्तला विस्तार भएकाले बाहिरबाट आउने मानिसले आकर्षित गर्ने गरेको किसानको भनाइ छ ।
सुन्तलामा पछिल्लो समय पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो देखिने, पातमा विभिन्न खालका दाग देखिने तथा बोट क्रमशः सुक्दै जाने समस्या देखिने गरेको किसानले बताएका छन् । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब आठ सयदेखि एक हजार ५०० मिटर उचाइसम्मको क्षेत्र सुन्तलाखेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यस उचाइमा तापक्रम, माटोको अवस्था र वातावरणीय सन्तुलन सुन्तला उत्पादनका लागि अनुकूल हुने प्राविधिकहरू बताउँछन् ।


















प्रतिक्रिया