काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-गल्छीखण्ड, मुग्लिन-नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन् ।
पृथ्वीराजमार्गको गल्छी-बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् । यस्तै सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए ।
यसैगरी मलेखु-गलौदी खण्डमा सात सय मिटर लेदो हटाउने काम भइरहेको छ । विभागका अनुसार सो खण्डको लेदो हटाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा आउनेछ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत रसुवा बाढीको कारणले अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० ज्याङखोलामा लेदो हटाउने कार्य भइरहेको जनाएको छ । त्यसैगरी, सोही ठाउँको बेनिघाट रोराङ गाउँपालिका-२ बिहानी पम्पतर्फ लेदो हटाउने काम भइरहेको छ ।
त्यस्तै गरी सोही पालिका-५ स्थित गलौदीमा एक्साभेटरलगायत उपकरण जान नसकेर सडक अवरुद्ध भइरहेको छ । धादिङको गजुरी गाउँपालिका-६ जहरेखेत र बाङ्गेमोड सडकखण्ड पनि अवरुद्ध भइरहेको छ । गल्छी गाउँपालिका-६ बैरेनीको लेदो हटाउने कार्य भइरहेको छ ।
















प्रतिक्रिया