१४ भदौ २०८३, आइतबार | August 30, 2026

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार



चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै थियो । उताबाट अचानक आवाज आयो ‘बाढी आयो… भागौँ, भागौँ  !’ त्यसपछि एकाएक फोन काटियो”, काभ्रेपलाञ्चोक भुम्लुकी सङ्गीता रिजालले जिन्दगीभर नबिर्सने गरी गडेको त्यो पल सम्झँदै भनिन् । भदौ १० गते रसुवागढीमा आएको विनाशकारी बाढीपछि उनका श्रीमान् राजकुमार रिजाल सम्पर्कविहीन छन् ।

त्यस दिनदेखि सङ्गीताको दैनिकी बदलिएको छ । श्रीमान् जीवितै फर्कने सानो आशा बोकेर उनी काठमाडौँका टिचिङ, ट्रमा सेन्टर र वीर अस्पतालदेखि चितवनको भरतपुर अस्पतालसम्म भौँतारिइरहेकी छिन् । अस्पतालका ढोका र शवगृहहरूमा श्रीमान्को अनुहार खोज्दा पनि कुनै जानकारी नपाएको उनले बताइन् । आज चितवन उद्योग परिसरमा भेटिएकी सङ्गीताले मलिन अनुहार बनाउँदै भनिन्, “चितवनका अस्पतालमा धेरै शवहरू ल्याइएका छन् भनेपछि यहाँसम्म आएका हौँ, तर चिन्न सक्ने अवस्था छैन ।”

यस्तै पीडा नुवाकोटकी मेनुका न्यौपानेको पनि छ । रसुवागढी क्षेत्रमा सवारी चलाउने उनका श्रीमान् प्रमोद भट्टराईसँगै भिनाजु र भान्जाहरू गरी एकै परिवारका सात जना सोही दिनदेखि सम्पर्कविहीन भएका छन् । एउटै ठाउँमा बस्ने र एउटै क्षेत्रमा काम गर्ने पूरै टोली एकाएक हराएपछि परिवारसँग कहिले भेट्ने हो भन्ने थाहा नभएका सन्नाटा छाएको छ ।

मेनुकाले भनिन्, “काठमाडौँका सबै अस्पताल र एयरपोर्टसम्म पुग्यौँ, कतै केही खबर पाइएन । पोखरा र गोर्खातिर साथीहरू खोज्न जानुभएको छ, म भने काठमाडौँदेखि चितवनसम्म शवगृह हेर्दै हिँडिरहेकी छु ।” रसुवागढीको कठिन भूगोल र जङ्गलतिर अझै पनि मानिसहरू उद्धारको पर्खाइमा हुन सक्ने आशङ्का गर्दै उनीहरूले खोजी कार्य विस्तार गरिदिन पीडितका परिवारले सरकारसँग आग्रह गरे ।

भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै रहेको चितवन उद्योग परिसर र नजिकैको चितवन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवन गत बुधबारदेखि पीडाको केन्द्रजस्तै बनेको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रमा धेरै शवहरू भेटिएपछि स्थानीय प्रशासनलाई भरतपुर अस्पतालमा शव व्यवस्थापन गर्न कठिन भएको थियो ।

अस्पताल परिसरमा आफन्त गुमाएकाहरूको रोदन र सम्पर्कविहीन आफन्तसँग सम्पर्क हुने आश, आँखामा आँसुसँगै अन्तहीन पर्खाइमा परिवार छन् । एकातिर एकैपटक धेरै शवहरू सङ्कलन हुँदा राख्ने ठाउँकोसमेत अभाव भयो । अन्ततः प्रतिष्ठानको खाली भवनलाई अस्थायी शव व्यवस्थापन कक्ष बनाइयो । तर प्राविधिक कारणले सोचेजस्तो सहज भएन । बाढीबाट निकालिएका शवहरू गलेका हुनु, लगातार प्राविधिक समस्या आउनु र शीतभण्डारणको अभावले गर्दा दुर्गन्ध बाहिरसम्मै फैलन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भरतपुरका अस्पतालहरूमा जम्मा ३० वटा शव राख्ने क्षमता भए पनि हालसम्म २७२ वटा शव प्राप्त भइसकेका छन् । प्राप्त शवमध्ये १० वटा मात्रै आफन्तले जिम्मा लिएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । सम्भावित स्वास्थ्य सङ्क्रमण र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले पहिचान हुन नसकेका शवहरूलाई देवघाटको जङ्गलमा लगेर वैज्ञानिक विधिअनुसार नम्बरिङ गरी सुरक्षित रूपमा माटोमा राख्न सुरु गरेको छ ।

पहिचान केन्द्रमा देखाइएका डिस्प्लेका फोटो, भित्तामा टाँगिएका हुलिया, हुलिया पुस्तिका र शवगृहका दृश्यहरूले आफन्तको मुटु काँप्छ । काठमाडौँदेखि चितवनसम्म भौँतारिइरहेका सङ्गीता र मेनुका जस्ता कैयौँ पीडितहरू अझै पनि एउटै आशा र प्रार्थनामा टिकेका छन् ‘जसरी भए पनि हाम्रा मान्छेहरू सकुशल घर फर्किउन’ ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  १० : ४१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति