१५ भदौ २०८३, सोमबार | August 31, 2026

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित



तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित रु ३० लाख बजेटमध्ये रु २९ लाख ३१ हजार खर्च भएको केन्द्रले जनाएको छ ।

पशुपालन व्यवसायलाई व्यवस्थित, व्यावसायिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बङ्गुर, बाख्रा तथा दुग्ध उत्पादनतर्फका कृषक समूहलाई लक्षित गरी पूर्वाधार निर्माण तथा आवश्यक सामग्री र उपकरण सहयोग गरिएको पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत एउटा बङ्गुरपालक कृषक समूहमा आबद्ध किसानको बङ्गुरको खोर सुधार गरिएको छ । खोर सुधारमार्फत बङ्गुरपालनलाई व्यवस्थित बनाउनुका साथै पशुको स्वास्थ्य र उत्पादनमा सुधार ल्याउने लक्ष्य राखिएको ठकुरीले बताए ।

त्यसैगरी, दुईवटा बाख्रापालक कृषक समूहमा आबद्ध २४ जना किसानका बाख्राको खोर मर्मत तथा निर्माण गरिएको छ । कार्यक्रमबाट थप ११ जना किसानलाई चापकटर तथा कम्बाइन मिल सहयोग गरिएको छ । पशुपालनमा आवश्यक पर्ने घाँस तथा दाना व्यवस्थापनका लागि उपयोगी उपकरण उपलब्ध गराउँदा किसानको श्रम तथा समय बचत हुने अपेक्षा गरिएको छ ।

बाख्राको नश्ल सुधार तथा उत्पादन क्षमता बढाउने उद्देश्यले दुईवटा प्रजनन बोका खरिद गरी उपलब्ध गराइएको छ । यस्तै, दुईवटा फार्ममा जैविक सुरक्षा कायम गर्न आवश्यक घेराबार निर्माण गरिएको ठकुरीले बताए । किसानको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुका साथै पशु स्वास्थ्यका लागि आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।

दुग्ध उत्पादनतर्फ पनि कार्यक्रमले किसानलाई सहयोग गरेको छ । दुईवटा दुग्ध उत्पादक कृषक समूहमा आबद्ध किसानका लागि ६१३ वटा स्टिल क्यान खरिद गरी वितरण गरिएको छ । दूध सङ्कलन तथा भण्डारणमा प्रयोग हुने स्टिल क्यानले दूधको स्वच्छता कायम राख्न तथा गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

केन्द्रले पशुपालन क्षेत्रमा रहेका किसानका आवश्यकता पहिचान गरी उत्पादन, पशु स्वास्थ्य, पूर्वाधार र व्यावसायीकरणमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । कार्यक्रमबाट खोर सुधार, उपकरण सहयोग, नश्ल सुधार, जैविक सुरक्षा, तालिम तथा पशु स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रत्यक्ष सहयोग पुगेको बताइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ८ : ०२ बजे

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक

भोटेकोशी बाढी : तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

त्रिशूली । भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको