२७ भदौ २०८३, शनिबार | September 12, 2026

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो



भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको लाङटाङ लिरुङ आसपासमा प्रकृतिले भयावह रूप देखायो । भीषण हिमपहिरो खस्यो । हिमपहिरोसँगै तल झरेको पानी, माटो, ढुंगा र हिउँले केही समयमै विनाशकारी हिले बाढीको रूप लियो । सो हिले बाढीले ल्हेन्देखोला हुँदै भोटेकोशी त्रिशुली नदीलाई आफ्नो नियमित बाटोमा रहन दिएन । त्यसले त बाटोमा भेटेका बस्ती, संरचना, सडक, पुल, आयोजना र मानवीय सपनाहरूलाई समेत आफूसँगै बगाउँदै लग्यो ।

रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्र केही क्षणमै विनाशको भूगोलमा परिणत भए । सयौँ मानिसले ज्यान गुमाए, हजारौँ बेपत्ता भए, हजारौँ घाइते र विस्थापित भए । विद्युत् आयोजना र अन्य भौतिक संरचनामा खर्बौँ रुपैयाँ बराबरको क्षति पुग्यो । नदी तटीय क्षेत्रमा रहेका केही जलविद्युत् आयोजनाका सुरुङभित्र अझैपनि हराइरहेका मानिसको खोजीकार्य जारी छ ।

विपत्तिको त्यो पीडा नेपालको सीमामै सीमित थिएन । सीमापारि चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङमा पनि त्यसको भयानक असर पुगेको थियो । त्यहाँ पनि जनधनको ठूलो क्षति भयो, कैयौँ मानिसले ज्यान गुमाए र सयौँ बेपत्ता भए । हिमालबाट जन्मिएको पानी, नदी हुँदै बग्ने र अन्ततः मानव सभ्यताको आधार बन्ने प्राकृतिक चक्रको एउटा निर्मम पक्ष हामीले आफ्नै आँखाअगाडि देख्न बाध्य भयौं । अकल्पनीय पीडा भोग्न बाध्य भयौं ।

तर त्यही पीडाको बीचमा मेरो यात्रा भने त्यस्तो ठाउँतर्फ मोडिँदै थियो, जहाँ मानिसले हजारौँ वर्षअघि नदीलाई शत्रु ठानेर रोक्ने प्रयास गरेनन्, बरु नदीको स्वभाव बुझे, त्यसको बहावलाई दिशा दिए र त्यसैको पानीबाट सभ्यता निर्माण गरे । गन्तव्य थियो – चीनको सिचुवान प्रान्तमा रहेको दुजियाङयाङ सिंचाई परियोजना ।

नेपालमा केही दिनअघि मात्र नदीले विनाशको कथा लेखेको थियो । म भने चीनको एउटा यस्तो नदी किनारमा पुग्दै थिएँं, जहाँ २२ सय वर्षभन्दा अघि मानिसले नदीसँग गरेको संवादलाई आज पनि जीवित राखिएको छ । त्यहाँ पुगिसकेपछि मनमा एउटा वाक्यले लगातार दिमाग घुमाइरह्यो – नेपालमा नदीले सभ्यता बगायो; दुजियाङयाङमा मानिसले नदीसँगै सभ्यता बनाए ।


जब नदी समस्या थियो

दुजियाङयाङको कथा मिन नदीबाट सुरु हुन्छ । त्यतिबेला मिन नदी पहाडी क्षेत्रबाट तीव्र गतिमा तल झर्थो । छेन्दु मैदानमा पुगेपछि यसको गति अचानक सुस्त हुन्थ्यो । नदीले पहाडबाट बोकेर ल्याएको ढुंगाबालुवा त्यहीँ थुप्रिन्थ्यो । जसका कारण वर्षायाममा पानीको सतह बढ्दा नदीले किनारा नाघ्थ्यो र आसपासका बस्ती तथा कृषि क्षेत्र बाढीको चपेटामा पर्थे ।

करिब २,२५० वर्षअघि यो क्षेत्रका मानिसका लागि नदी जीवनको आधार मात्र थिएन – विपत्तिको स्रोत पनि थियो । यो प्राकृतिक लिलाको समस्या बुझ्न त्यतिबेलाको छिन राज्यका पानीविज्ञ ली बिङले प्रयास गरे । नदीले निम्त्याएउने खास समस्याको अध्ययन गरे ।

सामान्य सोचले नदी रोक्न बाँध निर्माण गर्न त सकिन्थ्यो । तर छिन राज्यका लागि नदीलाई जलमार्ग बनाइराख्नुपनि आवश्यक थियो । सीमावर्ती क्षेत्रमा सैनिक तथा सामग्री आपूर्ति गर्ने डुंगाका लागि जलमार्ग खुला राख्नुपर्ने आवश्यकता थियो । त्यसैले ली बिङले फरक बाटो रोजे । नदीलाई रोक्ने होइन, नदीको बहावलाई व्यवस्थापन गर्ने ।

उनले नदीको केही पानीलाई एउटा धारमा मोड्ने, अतिरिक्त पानीलाई अर्को धारबाट निकाल्ने र पहाड काटेर नहर बनाउने योजना अघि बढाए । यही सोचबाट ‘दुजियाङयाङ सिंचाई प्रणाली’को जन्म भयो । चिनियाँ पथप्रदर्शक मिस लिलीले यो कुरा बताईंरहँदा मेरो मनले भने भोटेकोशी बाढीको विनाशलिलालाई सम्झिँदै थियो ।

आजको भाषामा भन्दा त्यो एउटा विशाल जल-व्यवस्थापन परियोजना थियो । तर त्यतिबेलाको प्रविधि सम्झिने हो भने त त्यो एउटा असम्भवजस्तो लाग्ने अभियान थियो ।

पहाड काट्ने त्यो अद्भुत प्रविधि
दुजियाङयाङ निर्माणको सबैभन्दा कठिन काम थियो – पहाड काटेर पानीको बहावक्षेत्र बनाउनु । त्यतिबेला न त बारुदको आविष्कारै भएको थियो, नत आधुनिक ड्रिल मेशीन र एक्स्काभेटर नै थिए । तर मानिससँग एउटा कुरा चाहिँ थियो – अवलोकन र बुद्धि ।

ली बिङले आगो र पानीको प्रयोग गरेर चट्टान फुटाउने विधि अपनाए । चट्टानलाई निरन्तर आगोले तताउने र त्यसपछि पानीले अचानक चिस्याउने । यसो गर्दा तापक्रममा हुने तीव्र परिवर्तनले चट्टानमा चिरा पथ्र्यो । त्यसपछि त्यसलाई फुटाएर हटाउन सजिलो हुन्थ्यो । आठ वर्षको मेहनतपछि पहाडमा करिब २० मिटर चौडा नहर निर्माण भयो ।

आज त्यही ठाउँमा उभिँदा एउटा प्रश्न स्वाभाविक रूपमा उठेको छ – २,२५० वर्षअघि मानिसले पानीको गति, चट्टानको प्रकृति र भूगोललाई यति गहिरोसँग कसरी बुझे होला ? सायद दुजियाङयाङको वास्तविक आश्चर्य यसको संरचनामा भन्दा त्यसलाई जन्म दिने सोचमा थियो । जसले नदीलाई बाँधेनन्, बरु दुई धार बनाए ।

दुजियाङयाङको मुख्य संरचना हेर्दा यसको वास्तविक इन्जिनियरिङ दर्शन अझ स्पष्ट बुझन् सकिन्छ । यस प्रणालीका तीन प्रमुख संरचना छन् – युजुई, फेइशायान र बाओपिङ्कोउ । यी तीनवटाले एकअर्कासँग मिलेर पानीको बहावलाई नियन्त्रण गर्छन्, सिँचाइका लागि सयौं किलोमिटर टाढासम्म पानी पु-याउँछन् र बाढीको जोखिम कम गर्छन् ।

पहिलो संरचना हो – युजुई अर्थात माछाको मुख
दुजियाङयाङ सिंचाई परियोजनाको बीचोबीच माछाको मुखजस्तो देखिने आकार भएको केहीसय मिटर लामो कृतिम टापु बनाइएको छ । यसले नदीलाई दुई धारमा विभाजन गरेको छ – भित्री नदी धारा र बाहिरी नदी धारा ।

सुक्खा मौसममा नदीको करिब ६० प्रतिशत पानी भित्री नदी धारमा प्रवेश गरेर सिँचाइ प्रणालीतर्फ जान्छ । बाढीको समयमा भने यो अनुपात करिब ४० प्रतिशतमा घट्छ र बाँकी पानी बाहिरी नदी धारबाट बग्छ ।

त्यससँगै नदीले बोकेको ठूलो मात्राको ढुंगा बालुवालाई पनि बाहिरी धारबाटै बाहिर पठाउँछ । यहाँ मानिसले नदीको प्राकृतिक वहाव शक्तिलाई समाप्त गरेको छैन । उसले नदीको शक्तिलाई दिशा दिएको छ ।

दोस्रो संरचना हो – फेइशायान अर्थात अतिरिक्त पानीको प्राकृतिक निकास
दोस्रो संरचना हो फेइशायान, अर्थात् ‘फ्लाइङ स्यान्ड वियर’। करिब २०० मिटर चौडा खुला भागले भित्री र बाहिरी धारालाई जोडेको छ । पानीको प्राकृतिक घुमाउरो बहावले अतिरिक्त पानीलाई बाहिरी धारातर्फ पठाएको छ । यस क्रममा पानीसँग आएको ढुंगाबालुवा पनि बाहिरिन्छ ।

हुन त, यहाँ आज आधुनिक कङ्क्रिट संरचना देखिन्छ । तर यसको मूल अवधारणा २२ सय वर्ष पुरानो हो । त्यतिबेला तटबन्ध निर्माण गर्न काठको गोलियाबाट बनाइएको त्रिभुज आकारको संरचनाभित्र ढुंगा अड्याएर राख्ने गरिएको थियो । ती संरचनालाई जोड्न बाँसको भाटाले ढुंगालाई बाँधेर पर्खाल (बान्नो)जस्तो बनाइएको थियो । यी संरचनालाई आजपर्यन्त जीवित राखिएको छ । जसको दैनिक हजारौं चिनियाँ र विदेशी नागरिकले अवलोकन गरिरहेका हुन्छन् ।

यहाँ पुग्दा नेपालको पछिल्लो विपत्ति सम्झिनु अस्वाभाविक हुँदैन । किनकी, हामीले भर्खरै नदीको शक्ति अचानक कति ठूलो बन्न सक्छ भन्ने भयावह दृश्य देख्यौँ, भोग्यौं । दुजियाङयाङले भने हजारौँ वर्षअघि नै यस्तै भयावह अवस्थाबाट वच्ने उपाय खोजेको रहेछ – बाढी आयो भने त्यसलाई कहाँ र कसरी सुरक्षित रूपमा पठाउने ?

तेस्रो संरचना हो – बाओपिङ्कोउ, अर्थात् ‘बोतल नेक’ नहर
पहाड काटेर बनाइएको यो नहरले पानीलाई छेन्दु क्षेत्रको मैदानी कृषि क्षेत्रमा पु¥याउँछ । यसको साँघुरो प्रवेशद्वारले पानीको बहावलाई नियन्त्रण गर्छ र अतिरिक्त पानीलाई बाहिर निकाल्न सहयोग गर्छ । यो संरचनालाई हेर्दा एउटा कुरा स्पष्ट हुन्छ – दुजियाङयाङ कुनै एउटै बाँध वा तटबन्ध होइन । यो नदीको बहाव, भूगोल, पानीको मात्रा, ढुंगाबालुवा र कृषि आवश्यकतालाई एउटै प्रणालीमा जोडिएको जीवित जल–व्यवस्थापनको भव्य प्रणाली हो ।

सिँचाइले बदलेको सभ्यता
दुजियाङयाङ निर्माण भएपछि यसको प्रभाव केवल बाढी नियन्त्रणमा सीमित रहेन । सिँचाइको सुविधा विस्तार भयो । कृषि उत्पादन बढ्यो । सिचुवानको धेरै मैदानी क्षेत्र चीनकै लागि अत्यन्त उत्पादनशील कृषि क्षेत्रका रूपमा विकसित भयो । नियमित र पर्याप्त कृषि उत्पादनले मानिसलाई खाद्य सुरक्षासँग जोड्यो । विपत्तिको जोखिम घट्यो । मानिससँग समय बढ्यो । सामाजिक र आर्थिक जीवनमा समेत दुजियाङयाङ सिंचाईं परियोजनाको प्रभाव परेको मानिन्छ । अर्थात् एउटा जल–इन्जिनियरिङ परियोजनाले केवल खेतमा पानी मात्र पु¥याएन । यसले समाज निर्माण ग-यो । सभ्यता निर्माण ग¥यो । विकासको ठूलो पूर्वाधार सडक वा भवन मात्र होइन, पानीको सही व्यवस्थापन पनि हुन सक्छ भन्ने कुरा यसले देखायो ।

झोलुङ्गे पुलमाथि उभिएर इतिहास हेर्दा
दुजियाङयाङको यात्रामा ‘अनलान पुल’ अर्को आकर्षण हो । ‘दम्पती पुल’का रूपमा समेत चिनिने यो पुल नदीको सम्पूर्ण चौडाइमा फैलिएको छ । यसले कृत्रिम माछा आकारको टापुलाई दुवै किनारासँग जोडेको छ । यसलाई चीनका पाँच प्राचीन पुलमध्ये एकका रूपमा चिनिदो रहेछ । यस पुलको इतिहासमा युद्ध, विनाश र पुनर्निर्माणका कथा जोडिएका रहेछन् ।

सन् १८०३ मा स्थानीय व्यक्ति हे सियान्दे र उनकी पत्नीले काठका फल्याक र बाँसका रेलिङ प्रयोग गरी दुवै नदीधारामाथि फैलिने पुल निर्माण गर्ने प्रस्ताव गरे । त्यसै कारण यसले ‘दम्पती पुल’को नाम पायो । समयसँगै त्यो पुल पनि हट्यो र आधुनिक पुलले त्यसको स्थान लियो । तर नाम भने ‘दम्पती पुल’ नै रहिरह्यो ।

जहाँ इन्जिनियरिङ र आस्था भेटिन्छ
दुजियाङयाङको अर्को विशेषता के हो भने यहाँ विज्ञान र संस्कृतिले एकअर्कालाई अलग गरेका छैनन् । युलेई पहाडको फेदीमा रहेको एरवाङ अर्थात् दुई राजाको मन्दिर ली बिङसँग जोडिएको सांस्कृतिक स्मृतिको महत्वपूर्ण केन्द्र हो । छिङ वंशकालमा बनेको करिब १०,०७२ वर्गमिटर क्षेत्रफलको काठको यो परिसर परम्परागत मन्दिर वास्तुकलाको उदाहरण हो । यहाँ ली बिङको मूर्ति, नाटक मञ्च र स्थानीय परम्परासँग जोडिएका विभिन्न सांस्कृतिक गतिविधिहरू संचालन हुन्छन् । मन्दिरको गुआनलान्टिङ मण्डपमा ली बिङका ज्ञानपूर्ण भनाइहरू लेखिएको छ । त्यसमध्ये एउटा भनाइको भावार्थ अत्यन्त अर्थपूर्ण छ – “नदी घुमाउरो बग्छ भने सीधा नहर काट; नदीको पिँध फराकिलोे छ भने त्यसलाई गहिरो बनाऊ ।” २,२५० वर्षअघि भनिएको यो विचार आज पनि आधुनिक चिनियाँ जल–व्यवस्थापनको दर्शन जस्तै बनेको छ ।

नेपालका पूर्वप्रधानमन्त्रीहरु टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइरालाले दुजियाङयाङ सिंचाईं प्रणालीको भ्रमण गरेको छन् । उनीहरुको फोटो यहाँको म्युजियममा टाँगिएको छ । केही महिना अघि फ्रान्सेली राष्ट्रपति इमान्युयल म्याक्रोन दम्पतीलाई चिनियाँ समकक्षी सि चिङफिङले यहिँ लगेर चिनियाँ नदीसभ्यताबारे बुझाउने प्रयास गरे । पथप्रदर्शक लिलीका अनुसार म्याक्रोन दम्पती २२ सय वर्षअघिदेखिको मानवनिर्मित प्राकृतिक भव्यता देखेर मुग्ध बनेका थिए रे ।

ड्रागनको कथा
लिडुई पार्कमा रहेको फुलोङ्गुआन अर्थात् ड्रागन नियन्त्रण मन्दिर दुजियाङयाङको अर्को सांस्कृतिक गन्तव्य हो । यहाँ ली बिङका पौराणिक छोरा एरलाङ शेनसँग जोडिएको ड्रागनको कथा लेखिएको छ । किंवदन्तीअनुसार एरलाङ शेन र उनका सात जना शपथबद्ध भाइहरूले मानव बलि लिन आएको ड्रागनलाई घात लगाएर समातेका थिए । त्यसपछि यस क्षेत्रमा बाढीको समस्या अन्त्य भएको जनविश्वास छ ।

ली बिङको मूर्ति
दुजियाङयाङको सबैभन्दा रोचक पक्षमध्ये एक हो पानीको सतह मापनसँग जोडिएको ली बिङको ढुंगे मूर्ति । पूर्वी हान वंशकालमा नदीको पानीको अवस्था अनुगमन गर्न ली बिङको मूर्ति नदीमा राखिएको थियो । पानी काँधभन्दा माथि पुगेमा बाढीको संकेत र पिँडुलाभन्दा तल झरेमा खडेरीको संकेत मानिन्थ्यो ।

सन् १९७४ मा नदीबाट निकालिएको उक्त मूर्ति अहिले प्रदर्शनमा राखिएको छ । स्रोतअनुसार यसलाई चीनमा ज्ञात मानव आकृतिको सबैभन्दा पुरानो ढुंगे मूर्तिका रूपमा चिनिन्छ ।

आज हामीसँग नभएपनि विकसित मुलुकसित डिजिटल सेन्सर छन् । स्याटेलाइट छन् । रियल–टाइम डेटा छ । तर हजारौँ वर्षअघि नदीको पानीको स्तरबाट जोखिम पहिचान गर्ने मानिसको सोच आफैँमा अद्भुत थियो । विज्ञानले नदीको बहाव बुझ्यो । समाजले त्यसलाई किंवदन्ती र संस्कृतिमा रूपान्तरण ग¥यो । यसरी दुजियाङयाङ केवल इन्जिनियरिङ परियोजना रहेन – यो सभ्यताको स्मृति बन्यो ।

भूकम्पले थलियो, तर फेरि उठ्यो
दुजियाङयाङले केवल बाढी र पानीसँग मात्र संघर्ष गरेको छैन । सन् १९३३ को डिएक्सी भूकम्पले मूल दुजियाङयाङ प्रणालीलाई ध्वस्त बनायो । पछि यसको पुनर्निर्माण सुरु गरियो । सन १९५० को दशकमा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले सिंचाईं प्रणालीलाई पुननिर्माण पुरा गर्न निर्देशन दिएका थिए । चीनमा सन् २००८ मा पश्चिमी सिचुआनमा गएको विनाशकारी भूकम्पले दुजियाङयाङ क्षेत्रलाई पनि प्रभावित ग¥यो । प्रारम्भिक रिपोर्टमा युजुई तटबन्धमा चिरा परेको उल्लेख भए पनि संरचना पूर्ण रूपमा ध्वस्त नबनाएको निस्कर्ष निकालियो ।

यसले अर्को कुरा सम्झाउँछ — दीगो पूर्वाधार भनेको विपत्ति नआउने संरचना होइन; विपत्तिपछि पनि पुनः उठ्न सक्ने संरचना हो ।

नेपालतर्फै फकिँदा
दुजियाङयाङको यात्रा सकिँदै गर्दा मन भने फेरि रसुवातर्फै मोडिँदै थियो । किनकी, लाङटाङ लिरुङको हिमपहिरोबारे साथमा रहेका चिनिायाँ साथीले जिज्ञासा राखिरहेका थिए । दिमागमा दृश्य घुमिरहेको थियो भदौ १०को हिले बाढी । रसुवा, नुवाकोट र धादिङका बस्ती । नदीकिनारका संरचना । जलविद्युत् आयोजनाका सुरुङ । बेपत्ता मानिसहरू । घरबार गुमाएका परिवारहरू । सीमापारि केरुङसम्म फैलिएको पीडा ।

नेपाल हिमालको देश हो । हिमालबाट हिमनदी जन्मिन्छन् । हिमनदीबाट नदीहरू जन्मिन्छन् । नदीले सभ्यताको विकास गर्छन् नदीकै किनारमा बस्ती बस्छन्, खेती हुन्छ, शहर बन्छन्, उद्योग र ऊर्जा आयोजना निर्माण हुन्छन् । तर यही नदी कहिलेकाहीँ विनाशको माध्यम पनि बन्न सक्छ । त्यसैले प्रश्न नदीलाई रोक्ने होइन । हामीले नदीलाई कति बुझेका छौँ ? हामीलाई हिमपहिरोको जोखिम कति थाहा छ ? हिमतालको अवस्था कस्तो छ ? हिमनदी कति तीव्र गतिमा परिवर्तन भइरहेका छन् ? नदीको प्राकृतिक बहाव क्षेत्रमा हामीले कति अतिक्रमण गरेका छौँ ? जलविद्युत्, सडक, पुल र बस्ती निर्माण गर्दा भविष्यको बाढी र हिमपहिरोको सम्भावित जोखिमलाई कति गम्भीरतापूर्वक लिएका छौँ ? र सबैभन्दा महत्वपूर्ण प्रश्न – विपत्ति आएपछि उद्धार गर्ने हाम्रो क्षमता जति महत्वपूर्ण छ, विपत्ति आउनुअघि त्यसको जोखिम बुझ्ने हाम्रो क्षमता पनि त्यति नै महत्वपूर्ण छैन र ?

दुजियाङयाङले यी सबै प्रश्नको सीधा उत्तर त दिँदैन । तर उसले एउटा बाटो भने देखाउँछ । दुजियाङयाङबाट नेपालले के सिक्न सक्छ ? दुजियाङयाङलाई जस्ताको तस्तै नेपालमा ल्याउन सकिँदैन । किनकी हाम्रो हिमाली भूगोल, नदी प्रणाली, जलवायु, बस्तीको स्वरूप र प्राकृतिक जोखिम फरक छन् । तर यसको दर्शन नेपालका लागि महत्वपूर्ण हुन सक्छ ।

पहिलो – नदीलाई केवल विकासको स्रोतका रूपमा होइन, जीवित प्राकृतिक प्रणालीका रूपमा बुझ्ने । दोस्रो – बाढी नियन्त्रणलाई केवल तटबन्ध निर्माणमा सीमित नगर्ने । नदीको माथिल्लो जलाधारदेखि तल्लो तटीय बस्तीसमेत समेटिएको समग्र प्रणाली आवश्यक हुन्छ । तेस्रो – हिमपहिरो, हिमताल, हिमनदी र बाढीको जोखिमलाई एउटै जल–जोखिम व्यवस्थापन प्रणालीमा जोड्ने । चौथो – पूर्वसूचना प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने । नदीको पानीको स्तर, वर्षा, हिमताल र हिमनदीको परिवर्तन निरन्तर निगरानी गर्न सकिने प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ । पाँचौँ – नदी तटीय क्षेत्रमा हुने पूर्वाधार विकासको पुनर्मूल्यांकन गर्ने । सडक, पुल, बस्ती, जलविद्युत् आयोजना वा अन्य संरचना निर्माण गर्दा दीर्घकालीन नदी–जोखिमलाई केन्द्रमा राख्नुपर्ने हुन्छ ।

र अन्तिममा प्रकृतिसँग युद्ध होइन, प्रकृतिसँग सहअस्तित्व कायम गर्ने । दुजियाङयाङको सबैभन्दा ठूलो शिक्षा यही हुन सक्छ ।

नदीसँगै बगेको एउटा सभ्यता
दुजियाङयाङलाई सन् २००० मा युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरियो । तर यसको वास्तविक विश्व सम्पदाको अर्थ एउटा पुरानो संरचना जोगिनुमा मात्र छैन । यसको अर्थ एउटा विचार २,२५० वर्षसम्म जीवित रहनुमा छ । मिन नदी आज पनि बगिरहेको छ । पानी आज पनि खेतमा पुगिरहेको छ । दुजियाङयाङ आज पनि काम गरिरहेको छ ।

राजा बदलिए । राजवंश बदलिए । युद्ध भए । भूकम्प आए । समय बदलियो । तर नदीसँग गरिएको त्यो पुरानो संवाद भने अझै जारी छ । मिन नदीको पानी आफ्नै गतिमा बगिरहेको छ । नदीलाई मानिसले जितेको छैन । नदी पनि मानिसलाई हराउन आएको छैन । दुवैले एकअर्काको अस्तित्व स्वीकार गरेका छन् । त्यही स्वीकारोक्तिबाट एउटा सभ्यता जन्मिएको छ ।

केही दिनअघि मात्रै नेपालको हिमाली भूभागमा प्रकृतिको रौद्र रूप – हिमपहिरो, हिले बाढी र त्यसपछि आएको अकल्पनीय विनाश देखियो । त्यसको पीडा अझै ताजा छ । त्यही पीडाको बीचमा दुजियाङयाङको पानी हेर्दा लाग्यो – नदी हाम्रो शत्रु होइन । तर नदीलाई नबुझ्नु हाम्रो ठूलो कमजोरी हुन सक्छ । २,२५० वर्षअघि ली बिङले नदीको शक्ति रोक्न खोजेनन् । उनले त्यसलाई पढे । बुझे र दिशा दिए । सायद आज नेपालको चुनौती पनि त्यही होला । हामीले आफ्ना हिमाल पढ्नुपर्छ । हिमनदी बुझ्नुपर्छ ।

हिमतालको जोखिम बुझ्नुपर्छ । नदीको स्वभाव बुझ्नुपर्छ र विकासका नाममा नदीमाथि बनाइएका आफ्ना संरचनालाई पनि पुनः हेर्नुपर्छ । किनकी, सभ्यता नदीबाट जन्मिन्छ । तर नदीलाई नबुझे सभ्यता नदीमै बग्न पनि सक्छ । दुजियाङयाङ त्यसको २२ सय वर्ष पुरानो स्मरण हो । र नेपालको पछिल्लो विपत्ति त्यसको अत्यन्त पीडादायी वर्तमान ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  १० : ३० बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास