६ श्रावण २०८३, बुधबार | July 22, 2026

कैलालीका महिला मतदाता भन्छन् ‘घर परिवारकै सल्लाहमा भोट दिन्छौँ’



टीकापुर । मतदान नागरिकको ब्यक्तिगत अधिकार हो । मतदान गोप्य हुने भएकाले मानिसले आफूले इच्छाएको व्यक्तिलाई मत दिन पाउनुपर्छ तर कैलालीका महिलाका सवालमा यो निकै कममा लागू हुन्छ । कैलालीका महिला परिवार, समाज र घरका पुरुषले भनेकै व्यक्ति तथा दललाई मतदान गर्दै आएको बताउँछन् ।

कतिपय महिला उम्मेदवार राम्रो लागे पनि परिवारका कुरा काट्न नसक्दा मन नपरेका उम्मेदवारलाई पनि मतदान गर्नु परिरहेको बताउँछन् । कैलालीकी मैना साउँदले अहिलेसम्म जतिपटक मतदान गरिन सबै श्रीमान्ले भनेकै उम्मेदवार र दललाई मत दिएकी छिन् । अहिलेसम्म उनले फरक ब्यक्तिलाई मत दिएकी छैनन् ।

“अहिलेसम्म छ वटा निर्वाचनमा मतदानमा सहभागी भएकी छु । विगतदेखि नै श्रीमान् जसलाई मत देउ भन्नुहुन्छ, उसैलाई मत हालेर आउँछु”, मैना भन्छिन्, “एक दिन मत दिनुछ । त्यसमा पनि के विवाद गर्नु ? कहिलेकाहीँ उम्मेदवार चिनेको हुँदैन, मसँग कोही मत माग्न पनि आउँदैनन्, श्रीमान्सँगै कुरा गर्छन्, उहाँले भनेको मानिस नचिनेको भए पनि मत दिएकी छु ।”

कैलालीमा पाँच लाख ३५ हजार पाँच सय तीन मतदाता छन् । कैलालीमा पुरुषको तुलनामा महिला मतदाता धेरै छन् । कैलालीमा दुई लाख ७३ हजार आठ सय ८३ महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ६१ हजार छ सय २० छन् । कैलालीमा १२ हजार दुई सय ६३ महिला मतदाता बढी छन् । महिला मतदाता बढी भए पनि उनीहरू अधिकांशले पुरुषले भनेकै ठाउँमा मतदान गर्छन् ।

कैलालीकै टीकारानी डगौरा थारु र कुच्लीदेवी डगौराले पनि घरका मानिस र गाउँका बडघरले भनेकै मानिसलाई मतदान गर्ने गर्नेगरेका छन् र यसपटक पनि त्यही तयारी छ । “हामी त घरमात्र होइन गाउँकै मानिस बडघरले भनेको मानिसलाई मत दिन्छौँ, गाउँका पुरुषहरू बसेर सल्लाह गर्छन्, अनि बडघरले घरघर गएर फलानो उम्मेदवारलाई मत दिनु भन्नुहुन्छ”, टीकारानीले भनिन् “अहिलेसम्म हामीले दायाँबायाँ गरेका छैनौँ ।”

टीकापुर–२ कि खगी विक पनि श्रीमान्कै निर्णयमा सहमति जनाउँछिन् र मतदान गर्छिन । “अहिलेसम्म अप्ठ्यारो पनि लागेको छैन, घरमा सल्लाह हुन्छ अनि त्यहीअनुसार मतदान गर्ने गरिएको छ”, विकले भनिन । साठी कट्न थालेकी चन्द्रा बोहराले पनि श्रीमान् र छोराले भनेकै ठाउँमा मतदान गर्दै आएकी छिन् । उनलाई कहिलेकाहीँ अरु उम्मेदवार राम्रो लागे पनि घरका पुरुषले भनेको कुरा टार्न सक्दिनन् । “मलाई धेरै निर्वाचनमा अरु उम्मेदवार राम्रो लागेका छन्, उनीहरू योग्य छन् भन्ने लाग्छ”, उनले थपिन, “तर छोराले, श्रीमानले भनेको मान्छु, घरमै धोका दिन मन लाग्दैन ।”

दीपा भण्डारीलाई आफूले इच्छाएको व्यक्तिलाई मत दिनुपर्छ भन्ने थाहा छ तर पनि परिवारले जसलाई जिताउने भन्छन् उसैलाई मत दिइरहेकी छिन् । “हामी अहिलेसम्म राम्रोभन्दा हाम्रा उम्मेदवार जिताउने कोसिस गर्छौं”, उनले भनिन, “यो राम्रो होइन भन्ने थाहा छ । अहिलेसम्म त्यस्तो हिम्मत गरिएको छैन । पारिवारिक सल्लाह हुन्छ । सबै परिवार नै सल्लाहनुसार मत दिन्छौँ ।”

अधिकांश महिलाले मतदान श्रीमान् र परिवारको सहमतिमा गर्ने गरे पनि कतिपय महिलाले स्वविवेक प्रयोगसमेत गर्ने गरेका छन् । उनीहरूले मतदान गोग्य हुने र व्यक्तिगत अधिकार भएकाले इच्छाएको र योग्य उम्मेदरवारलाई मत दिने गरेको बताउँछन् । कैलालीकै वसन्ती फुलाराले हरेक निर्वाचनमा आफूलाई मन परेको उम्मेदवारलाई मत दिएकी छिन्।

“हाम्रो घरमा त्यस्तो दबाब दिने चलन पनि छैन, मैले मेरो मत कसलाई दिए मलाई मात्र थाहा हुन्छ, त्यसैले क्षमता भएको उम्मेदवार छानेर मत दिन्छु”, उनी भन्छिन्, “मत दिनु नागरिकको व्यक्तिगत अधिकार हो । मत दिने कुरामा कसैको दबाब सहनु हुँदैन । मताधिकार स्वविवेक प्रयोग गरी मनपरेको उम्मेदवारलाई जिताउन प्रयोग गर्छु ।”

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ०१ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क