५ श्रावण २०८३, मंगलबार | July 21, 2026

विश्वको १.७ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपालको ५.१ प्रतिशत



काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ ।

विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने प्रक्षेपण गरेको छ । प्रक्षेपण प्रतिवेदनले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत रहने अनुमान गरेको छ । ८ महिनाअघि मात्रै ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको हो ।

विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

विश्व बैंकको बुधबार प्रकाशित विश्व आर्थिक परिदृष्यअनुसार युक्रेन युद्धको प्रभाव दक्षिण एसियामा पनि पर्ने छ । यसले गर्दा सन् २०२२ मा आर्थिक वृद्धिदर ६ दशमलव १ मा मात्र हुने र यो घटेर सन् २०२३ मा ५ दशमलव ५ मात्र हुनेछ । सन् २०२४ मा भने यो ५ दशमलव ८ मा उक्लिने छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियाका मुलुकहरूमा सबैभन्दा बढी आर्थिक वृद्धि माल्दिभ्सको नै हुनेछ । सन् २०२१ मा ४१.७ प्रतिशत आर्थिक वृद्धि गरेको माल्दिभ्सको कोरोनाका कारण सन् २०२२ मा १२.४ मा सीमित हुनेछ भने २०२३ मा ८.२ हुनेछ । सबैभदा कम आर्थिक वृद्धि पाकिस्तानको हुने प्रक्षेपण गरिएको छ । पाकिस्तानको सन् २०२१/२२ मा ६ प्रतिशत, सन् २०२२/२३ मा २ प्रतिशत र २०२३/२४ मा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।

विश्व बैंकका अनुसार सन् २०२४ मा अफगानिस्तान, पाकिस्तान र श्रीलंकामा गरिबीको संख्या बढ्दै जाने छ । भारतको, सन् २०२२/२३ मा ६.९ प्रतिशत र २०२३/२४ मा ६.६ प्रतिशतको आर्थिक वृद्धि हुने छ ।

सन् २०२२/२३ अर्थात् चालू आर्थिक वर्षमा बंगलादेशको ५.२, भुटानको ४.१ र पाकिस्तानको २ प्रतिशत रहने अनुमान गरेको छ । श्रीलंकाको भने ४.२ प्रतिशत ऋणात्मक हुने अनुमान छ । त्यस्तै, आगामी आवमा माल्दिभ्सको ८, श्रीलंकाको १, बंगलादेशको ६.२, भुटानको ३.७, भारतको ६.६, नेपालको ४.९ तथा पाकिस्तानको ३.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान छ । विश्व बैंकले दक्षिण एसियामा खाद्यान्नको मूल्य वृद्धिसँगै विपन्न र न्यून आय भएका समूह खाद्य असुरक्षाको संकटमा धकेलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । जलवायु परिवर्तनको असरले अर्थतन्त्र थप संकटमा जान सक्ने जोखिम रहेको विश्व बैंकको भनाइ छ ।

विश्व बैंकले विकासशील राष्ट्रको अर्थतन्त्र भने मध्यम रहने देखाएको छ । विश्व बैंकका अनुसार मन्दीको असर विशेषगरी गरिब देशमा बढी देखिने छ । यी देशमा सन् २०२३ र २०२४ मा प्रतिव्यक्ति आय १.२ प्रतिशत मात्रै बढ्ने छ ।

उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृंखलामा देखिएको अवरोधलगायतका कारणले पनि यस्तो समस्या हुने प्रक्षेपण विश्व बैंकको छ ।

अमेरिका, युरोपेली देश र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको विश्व बैंकको भनाइ छ । सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशत र चीनको ४.३ प्रतिशत रहने अनुमान छ ।

चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ । सन् २०२१ मा उसको वृद्धिदर ८.१ प्रतिशत थियो ।

विश्व बैंकको विश्व आर्थिक परिदृश्य प्रतिवेदन २०२३ ले नेपालले कोभिड-१९ महामारीबाट परेको प्रभावबाट छिटो पुनरुत्थान गर्न लागेको जनाएको छ ।

विश्व बैंकका अनुसार मन्दीको असर गरिब देशहरू विशेषगरी अफ्रिकाका देशहरूमा सबैभन्दा बढी देखिने छ । यी देशमा सन् २०२३ र २०२४ मा प्रतिव्यक्ति आय १.२ प्रतिशत मात्रै बढ्ने प्रक्षेपण गरिएको छ । जसका कारण गरिबी बढ्ने सम्भावना पनि बढ्दै गएको छ । यसबाहेक अमेरिका-युरोपमा निरन्तर बढ्दै गएको ब्याजदरले गरिब मुलुकबाट लगानी आकर्षित हुने र ती मुलुकमा लगानीको संकट गहिरिनेछ ।

विश्व बैंकका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका यो वर्ष मन्दीबाट बच्न सक्ने भए पनि यसको वृद्धिदर ०.५ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । जहाँ विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरको अनुमान घटाएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : ४१ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको