पाम आयलमा लागेको भारतीय प्रतिबन्ध हटाउन १५० करोड भारुको लेनदेन गरिँदै

खबर कुरा
१७ श्रावण २०७७, शनिबार

काठमाडौं । नेपालबाट भारतमा सबैभन्दा धेरै निर्यात हुने वस्तु के हो भनेर कसैले सोध्यो भने पाम आयल भनेर बुझिन्छ । भारतसँग व्यापार घाटा घटाउन भूमिका खेलेको भनिएको पाम आयललाई यतिबेला भारतले आयात प्रतिबन्ध लगाएको छ । बीचमा केही समय खुला गरेको आयातलाई भारतले पुनः मे ९ बाट पुनः रोक लगाए पछि नेपालको निर्यात ठप्प भएको छ ।

गत आर्थिक वर्षमा भारतले दुई पटक आयात प्रतिबन्ध लगायो । जसका कारण पाम आयलको कारोबार गर्ने नेपालका उद्योगी व्यवसायीहरु तनाबमा परेका छन् । पाम आयलकै नाममा भन्सार विभागको तथ्याङ्कमा निर्यात बढी भएको देखिए पनि राज्यलाई वास्तविक नाफा भने यहाँबाट प्राप्त हुँदैन ।

मलेसिया, इन्डोनेशिया लगायतका देशबाट डलरमा कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर भारुमा भारत निर्यात हुने पाम आयलबाट राज्यलाई खासै फाइदा नभएपनि यसका कारोबारी उद्योगी व्यवसायीलाई भने मालामाल हुँदै आएको थियो ।

नेपालमा पाम आयल उत्पादन हुँदैन । तर, पाम आयलको चर्चा अहिले उद्योग व्यवसाय र अर्थमन्त्रालय सम्बद्ध निकायहरुमा सबैभन्दा धेरै सुनिन्छ । आम सर्वसाधारण नेपालीलाई त पाम आयलबारे जानकारी पनि छैन ।

नेपालमा पाम आयलको कारोबार केही सीमित उद्योगी व्यवसायीहरुले गर्दैआएका छन् । २० जना उद्योगी व्यवसायीले मलेसिया लगायतका देशबाट आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ ।

तर, भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार महानिर्देशनालय (DGFT) ले आफ्नो देशभित्र आयातमा प्रतिबन्ध लगाएपछि नेपालका उद्योगी व्यवसायी तनाबमा परेका हुन् । कच्चा तेल आयातमा करोडौं लगानी गरेका व्यवसायीहरु यतिबेला प्रतिबन्ध फुकुवा गराउनका लागि विभिन्न निकायमा धाइरहेका छन् ।

प्रतिबन्ध खुलाउन लेनदेनको प्रयास
पाम आयल कारोबारमा नेपालका २० जना उद्योगी संलग्न रहेका छन् भने भारतमा ३५/४० जना उद्योगी व्यवसायी संलग्न रहेका छन् । विश्वस्त स्रोतका अनुसार नेपालका उद्योगी व्यवसायीहरु भारे पाम व्यवसायीभित्र पनि पर्दछन् । अर्थात, उनीहरु नेपाल र भारत दुवैतिरबाट पामआयलको कारोबारमा संलग्न रहेका छन् ।

म्न्ँत् ले प्रतिबन्ध लगाएपछि तनाबमा परेका भारत र नेपालका व्यवसायीहरुले भने यसको कारोबार खुलाउनका लागि सबैप्रकारका उपायको खोजी गरिरहेका छन् । DGFT, India का उच्चपदस्त पदाधिकारीसँग अहिले रकम लेनदेनको प्रयास भैरहेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘DGFTका DG सहितका हाकिमहरुले सुरुमा ३ सय करोड भारुको डिमाण्ड गरेका थिए । तर, १५० करोड भारुमा कुरा मिल्दै गएको छ । लेनदेन पक्का भएपछि केही दिनभित्रै आयातमा लगाउँदै आएको प्रतिबन्ध DGFT ले खुला गर्नेछ । यसको नतिजा केही दिनभित्रै थाहा लाग्दैछ ।’ तर, DGFT भित्र भैरहेको लेनदेनबारे भारतको उद्योग तथा वाणिज्य मन्त्रालयसमेत बेखबर रहेको स्रोतले बताएको छ ।

व्यवसायीक स्तरमा गर्न खोजिएको यति ठूलो लेनदेन सम्भवतः नेपालकै कारोबारी इतिहासमा पहिलो पटक हुनुपर्छ । पाम आयलमा भारतले लगाइरहेको रोक र त्यसलाई खुलाउन भएको प्रयासबारे जानकारी लिन खबरकुराले पटकपटक प्रयास गरेपनि पाम आयल उद्योगी सन्दीप अग्रवाल सम्पर्कमै आउन चाहेनन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष सतिस मोरसँग हामीले पाम आयलमा नेपालको कारोबार र भारतको प्रतिबन्ध पछि उद्योगी व्यवसायीलाई परेको मर्काबारे कुरा गर्न खोजेका थियौं । अध्यक्ष मोरले पाम आयलको विषयमा आफु नबोल्ने र बोल्न नमिल्ने बताए ।

पाम आयलको कारोबारमा राज्यलाई भने तथ्याङ्कगत रुपमा भारतसँगको व्यापार घाटा घटेको देखाउन सहयोग मिले पनि खासै फाइदा भने छैन । तत्कालिन रुपमा केही फाइदाजस्तो देखिएपनि पाम आयाल कारोबारबाट नेपालको अर्थतन्त्रमा जोखिम बढी रहेको बताएँछन् व्यापारविज्ञ अर्थविद् पोषराज पाण्डे । सरकारको एकाध अर्ब राजस्व गुम्ने जस्तो देखिएपनि केही परिवारको व्यापारमा प्रभाव पर्नेबाहेक अरु घाटा नलाग्ने पाण्डेको तर्क छ ।

सरकारले राजस्वको लोभमा पाम आयल आयात निर्यातको अस्वभाविक गतिविधिलाई रोक नलगाउने हो भने केही परिवारको व्यापारिक हिस्सा बनेको पाम आयलबाट राज्यलाई दीर्घकालमा घाटा मात्रै हुने उनको दाबी छ । बरु, उल्टै पाम आयल उद्योगले निकाल्ने फोहोरबाट खोला नदी प्रदुषित बनेको स्थानीय बासिन्दा बताउँन् ।

के हो पाम आयल ?
पाम एक प्रकारको वनस्पति हो । अफ्रिकी मुलुका उत्पादन भएको यो वनस्पति अहिले मलेसिया इन्डोनेशियामा सबैभन्दा धेरै उत्पादन हुन्छ । यही वनस्पतिको दानालाई प्रशोधन गरेर तेल निकालिन्छ । पामको एक वनस्पतिबाट दुईप्रकारको पाम आयल र पाम केर्नल गरी दुईप्रकारको तेल निस्किन्छ । विश्वका ४२ देशमा उत्पादन हुनेभएपनि अधिक हिस्सा भने मलेसिया र इन्डोनेसियाले ओगटेका छन् ।

पाम आयलको खपत सबैभन्दा धेरै भारतमा हुन्छ । कुनै पनि पकाएको वस्तुलाई अलि लामो समय टिकाउन र झुरुम्म पार्नका लागि यो आयलको प्रयोग हुन्छ । यसबाहेक स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामाग्री बनाउन पनि यो आयल प्रयोग गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*