९ माघ २०८२, शुक्रबार | January 24, 2026

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म



म्याग्दी । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौं, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो ।

रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका-९ तोरीपानीका सागर बानियाँले यहाँ उत्पादित टिमुर स्वदेशका साथै विदेशबाट पनि माग आएको बताए ।

“विभिन्न देशमा रहेका नेपालीले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि टिमुर लैजानुहुन्छ । पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ”, उनले भने, “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोगयोग्य प्रमाणित गरिएको टिमुर विदेश पठाउने गरेका छौँ ।”

बेनी-९ घतानको फरकफरक ठाउँमा उत्पादन भएको २० किलो काँचो र दुई किलो सुकाएको टिमुर परीक्षणका लागि गत साता काठमाडौँस्थित गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाएको बानियाँले जानकारी दिए । प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारी भइरहेको भन्दै उनले अहिले यहाँका किसानले उत्पादित टिमुर टिप्न थालेका बताए ।

गत वर्ष घतानमा उत्पादन भएको एक हजार छ सय किलो टिमुर प्रतिकिलो रु तीन हजारका दरले बिक्री भएको थियो । योमध्ये विदेशी बजारमा करिब दुई सय किलो बिक्री भएको बानियाँले बताए । धेरैजसो टिम्मुर मुस्ताङका होटल सञ्चालकहरूले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन् ।

घतान क्षेत्रमा यस वर्ष करिब दुई हजार किलो टिमुर उत्पादन हुने अनुमान गरिएको भूमेसिद्ध टिमुर सञ्जालले जनाएको छ । बेनी-९ ढावाका नरबहादुर राईले रु २० हजारको टिमुर बिक्री गरिसकेको जनाउँदै थप रु ४० हजार बराबर फल बिक्रीका लागि तयार भएको बताए ।

“खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन्”, किसान राईले भने, “फलाउन र टिप्न सक्नुप¥यो, टिमुर बिक्रीका लागि बजारको समस्या छैन, घरबाटै बिक्री हुन्छ ।”

बेनी-९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए । “बेनी-९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो”, उनले भने, “म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको हाम्रो तथ्याङ्क छ ।”

पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन दोब्बरले बढेको ढावाकी जमुना राईले बताइन । “एउटै रूखमा दुई किलोसम्म टिमुर फलेको छ”, उहाँले भन्नुभयो, “यसपाली छ किलो बिक्री गर्ने तयारी गरेकी छु ।”

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान बताउँछन् । “काँडाधारी रूख हुने भएकाले टिमुरको फल टिप्न दुःख हुन्छ । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने जोखिम पनि हुन्छ”, किसान राईले भने ।

भूमेसिद्ध टिमुर सञ्जालमा आबद्ध किसानलाई दुई वर्षअघि लुपथान्सा एयरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालले टिमुर टिप्न र बोट काँटछाँट गर्न जर्मनीमा विकास भएको ४० थान सिकेचर र आरा उपलब्ध गराएको थियो । डिभिजन वन कार्यालयले टिमुर प्रशोधन गर्ने औजार उपलब्ध गराएको छ ।

जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू-तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । डिभिजन वन कार्यालयले गत वर्षमा २० हजार टिमुरका बिरुवा निःशुल्क वितरण गरेको थियो । जिल्लास्थित उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : ०५ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण