१५ चैत्र २०८२, आइतबार | March 29, 2026

वरियता मिचेर एआइजी बढुवा सिफारिस गरिएको भन्दै प्रहरीमा असन्तुष्टी



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेसँगै वरियता मिचिएको चर्चा सुरु भएको छ ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेसँगै प्रहरी संगठनमा वरियता मिचिएको चर्चा सुरु भएको हो । बढुवा सिफारिसमा परेकामा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।

खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन्।नेपाल प्रहरीमा ६ जना एआइजीको पोष्ट रिक्त रहेको थियो। समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन्।

यो सिफारिसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएको टोली छुटेको छ। सिफारिसमा २०५४ सालमा भर्ना भएको टोलीमा समेत वरियता मिचिएको छ।  यो टोलीका कार्कीलाई पहिलो वरियतामा बढुवा सिफारिसमा गरिएको छ। दोस्रो वरियतामा रहेका केसीलाई तेस्रो र तेस्रोमा रहेका अधिकारीलाई दोस्रो नम्बरमा सिफारिस गरिएको छ।

केसी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धान सुरू गरेका अधिकृत हुन्। उनी यो सिफारिसमा अन्तिम समयमा मात्रै अटाएका छन्। उनलाई बढुवाबाट रोक्ने प्रयत्न भएको स्रोतको दाबी छ ।  तेस्रो वरियतामा रहेका अधिकारी प्रधानमन्त्री केपी ओलीनिकट थिए। उनलाई दोस्रो वरियतामा तान्दा केसी पछि धकेलिएका हुन्।

‘अधिकारीलाई अगाडि ल्याउने र केसीलाई बढुवामै छुटाउँदा नकारात्मक सन्देश जाने भएपछि अन्तिम समयमा उनलाई सिफारिसमा समेटिएको हो,’ बढुवा समिति स्रोतले भन्यो।  उक्त स्रोतका अनुसार केसीलाई छुटाएर २०५३ को टोलीबाट सिद्धिविक्रम शाहलाई समावेश गर्न खोजिएको थियो। अन्तिम समयमा तेस्रो वरियतामा चित्त बुझाउन केसी तयार भएपछि बढुवा समितिले सूची निकालेको उक्त स्रोतले बतायो।

केसीले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोबहादुर रायमाझीलगायत रहेको ‘गिरोह’को फाइल खोलेका थिए। उक्त प्रकरणपछि राजनीतिक शक्तिकेन्द्र केसीसँग चिढिएको थियो।  भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धासमेत रहेको यो बढुवा सिफारिसमा कार्की सबैभन्दा ‘सुरक्षित स्थान’मा छन्।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका डिआइजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत छुटेका छन्।  नेपाल प्रहरीमा विद्यमान तीस वर्षे कार्यकाल कायम रहे हालका प्रहरी महानिरीक्षक दीपक थापा २०८२ भदौ ५ मा अवकाशमा जान्छन्।

अहिले बढुवा सिफारिसमा परेका खापुङ  भदौ ५ पछि दुई महिना प्रहरी नेतृत्वमा पुग्छन्। आचार्य जेठ र शर्मा भदौमा अवकाशमा जान्छन्। खापुङपछि नेतृत्वमा पुग्ने टोलीको सुनिश्चितता अहिलेको बढुवा सिफारिसले गरेको छ। सिफारिसमा परेका कार्की खापुङपछि प्रहरी नेतृत्वमा पुग्छन्।

आचार्य र शर्मा अवकाशमा जाँदा २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएको टोलीका दुई जना एआइजी हुन सक्छन्। तर, कार्कीकै ब्याचमेटका डिआइजीहरू ईश्वर कार्की, दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्टलगायतले टक्कर दिने सम्भावना छ।

जेठ र भदौमा एआइजी रिक्त हुँदा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटे त्यसका सदस्यहरू डिआइजीबाटै अवकाशमा जानेछन्। त्यसकारण राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका सदस्य यो सिफारिसले असन्तुष्ट छन्।

रवि लामिछाने गृहमन्त्री भएकै बेला कार्कीको टोलीलाई वरियता मिचेर बढुवा गरिएको थियो। अहिलेका गृहमन्त्री रमेश लेखकले त्यही बढुवालाई निरन्तरता दिएका छन्।  लामिछानेले शाह नेतृत्वको टोलीलाई पाखा लगाएर कनिष्ठ टोलीलाई अगाडि ल्याई बढुवा गरेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ८ : ३६ बजे

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर