१४ भदौ २०८३, आइतबार | August 30, 2026

सुशीला कार्कीको नेतृत्वमा ‘लोकतन्त्र’को परीक्षा



नेपालको राजनीतिक परिदृश्यमा एक असाधारण मोड आएको छ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । न्यायिक क्षेत्रबाट कार्यकारी नेतृत्वमा प्रवेश गर्नु आफैंमा दुर्लभ घटना हो । तर कार्कीको नियुक्ति केवल असामान्य होइन, यो देशको लोकतान्त्रिक यात्राको निर्णायक मोड पनि हो ।

कार्कीको उदय जेनजी आन्दोलनको जनदबाबबाट सम्भव भएको हो। भ्रष्टाचार, अनियमिता, र दलहरूको मनोमानी शासनविरुद्ध उठेको जनआवाजले उनलाई नेतृत्वको अग्रपंक्तिमा ल्यायो । देशभित्र लोकतन्त्रको नाममा भ्रष्टाचार र कुशासनले गन्हाएका सत्ता सञ्चालकहरुकै कारण आम जनतामा गुम्सिएको सत्ता विरोधी मनोविज्ञान जेनजी आन्दोलनमा रुपान्तरण मुख्य परिघटना हो । अवश्य पनि यो युवा विद्रोहलाई अदृश्य शक्तिले पनि आफुअनुकुल प्रयोग गर्न अभूतपूर्व सफलता पाएका छन् । केपी ओली सरकारको कुबुद्धिका कारण फैलिएको जनआन्दोलनले उनीसहित पुराना राजनीतिक दललाई नै किनारामा पुर्याएको छ । बैलैमा सुध्रिएर पश्चाताप गरेर जनतासँग माफी माग्दै जनदैलोमा पुग्न सकेनन् भने उनीहरु पुरै सकिने पनि निश्चित छ ।

यद्यपी, जेनजी आन्दोलनको ज्वाला सबै शक्तिका लागि गज्जबको साइत बन्न पुग्यो । आन्दोलन पवित्र उद्देश्यबाट वास्तविक जेनजीहरुको नेतृत्वमा सुरु भएपनि त्यहाँ भएको घुसपैठ र जनसंहार, हिंसा, अराजकता र लुटपाटको आर्किटेक्ट डिजाइनसहित प्रवेश गरेका बाह्य शक्तिहरुको अभूतपूर्व सफलताको पटाक्षेप विस्तारै हुँदै जाला । जसरी विगतमा श्रीलंका र बंगलादेशमा भएका आन्दोलन र ती आन्दोलनका प्रायोजकहरु को थिए भन्ने प्रष्ट भैसकेको छ । यो ३० वर्षको बीचमा युरोप, ल्याटिन अमेरिका र पश्चिम एशियामा गराइएका विभिन्न रंगका आन्दोलनको भाष्याकार को हुन भन्ने कुरा पनि भूराजनीतिमा चासो राख्ने सबै परिचित छन् भने तिनै शक्तिहरुको आर्किटेक्टमा चलेका शक्तिहरुले जेनजी आन्दोलनबाट कति सफलता पाए र पाउने अपेक्षामा छन् भन्ने कुरा पनि केही महिनाभित्रै खुल्दै जाला ।

तर, अबको चुनौतीको भारी ७३ वर्षीया जेनजी प्रतिनिधि सुशीला कार्कीको काँधमा आइपुगेको छ । आन्दोलनको भावनालाई संस्थागत सुधारमा रूपान्तरण गर्नसक्ने ल्याकत उनमा रहन्छ या अरुको खटनपटले मात्र सञ्चालन हुन्छ त्यसबाट नै कार्कीको सफलताको कसी मापन हुनेछ । विगतमा प्रधानन्यायाधीश हुँदा प्राप्त गरेको सम्मान प्रधानमन्त्री हुँदा पनि जोगाइराख्ने जिम्मेवारी उनकै काँधमा छ । जसको लागि केवल हठी स्वभाव मात्र पर्याप्त हुँदैन, समन्वय, संवाद र दूरदृष्टि अनिवार्य चाहिन्छ ।

प्रधानन्यायाधीशको रूपमा कार्कीले भ्रष्टाचारविरोधी छवि निर्माण गरिन् । कपितय महत्वपूर्ण मुद्दामा उनले देखाएको निर्भीकता र अडान प्रशंसनीय थियो । तर कार्यकारी नेतृत्वमा प्रवेश गर्दा त्यही निर्भीकता राजनीतिक सहकार्यको अभावमा टकरावको कारण बन्न सक्छ ।

राजनीतिक दलहरू उनको विगतका कतिपय निर्णयहरूबाटै असन्तुष्ट छन् । त्यसमाथि आफुहरुलाई किनारामा पारिएको संसद विघटनबाट उनीहरुको थप असन्तुष्टि छ । जबकी, आजको दिनसम्म पनि मूलधारका दलहरुसँग बलियो संगठनात्मक शक्ति कायमै छ । उनीहरु सकिएका छैनन, सकिन पनि सकिँदैनन । केबल, विगतमा उनीहरु जनताबाट टाढिएर विचौलिया दलालहरुसँग घाँटी जोड्दै सत्तालिप्सामा टासिँदा र अहिले यौटा सन्की शासकको व्यवहारले निम्त्याएको परिस्थितिको कुल योगले किनारा पारेको मात्र हो । दलहरुभित्र अहिलेका जेनजी अभियन्ताहरु भन्दा उन्नत विचार र दर्शन बोकेका युवा पुस्ता बाँकी नै छन् – उनीहरु अवश्य पनि उठ्नेछन् र जुर्मुर्याउने छन् । त्यतिबेला प्रधानमन्त्री कार्कीका लागि सबैभन्दा ठूलो चुनौती थपिनेछ । कार्कीले दलहरुलाई समाप्त पारेर चरम दक्षिणपन्थी शक्तिहरुको छायाँमा मात्र नाच्न अवश्य पनि सक्नेछैनन् । यदि कार्कीले संवादको शैली अपनाउन सकिनन् भने निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न असम्भव हुने खतरा त छ नै उनी अक्षमताको मेडलसहित बाहिरिनेछिन् ।

अर्कोतर्फ, आन्दोलनको क्रममा भएको दमन र त्यसपछिको हिंसा र लुटपाटको न्यायिक छानबिनको माग तीव्र छ । कार्कीको न्यायिक पृष्ठभूमिले छानबिनको प्रक्रिया सुरु गर्न सहज बनाउनेछ, तर निष्पक्षता र पारदर्शिताको सुनिश्चितता गर्न तिनै पुराना दलहरूको असहयोगले चुनौती थप्नेछ । यसका साथै जेनजी आन्दोलनको मुख्य माग सुशासन हो । सुशासन कायम गर्न विगतमा भएका भ्रष्टाचारका फाइलहरु खुल्न जरुरी छ । देशलाई नै बर्बाद बनाएको भ्रष्टाचार रोगको निदान गर्न वृहत निस्पक्ष छानबिन कसरी सुरु हुन्छ भन्ने कुराले कार्कीको छबिलाई प्रभावित पार्नेछ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा पनि कार्कीको नेतृत्वको परीक्षा हुनेछ । दक्षिण, उत्तर र पश्चिमबीच सन्तुलन, मानव अधिकारको संरक्षण र लोकतान्त्रिक प्रक्रियाको सम्मान– यी सबै विषयमा अन्तर्राष्ट्रिय समुदायको नजर उनीमाथि हुनेछ । कूटनीतिक सन्तुलन कायम राख्न उनले स्पष्ट नीति र दूरदृष्टि कसरी प्रस्तुत गर्लिन, उनको सफलता त्यसमा निर्भर हुनेछ ।

अब प्रश्न उठ्छ, के हठी स्वभावले कार्कीलाई सफल बनाउनेछ या असफलताको कारण बन्नेछ ? यदि उनले आफ्नो हठलाई सिद्धान्तमा रूपान्तरण गर्दै समावेशी सौम्य नेतृत्व प्रस्तुत गर्न सकिन् भने अवश्य पनि उनी सफल प्रधानमन्त्री बन्न सक्छिन् । अन्यथा, असफलताको दोष बोकेर बाहिरिनुको विकल्प उनीसँग रहनेछैन ।

नेपालको लोकतन्त्र अहिले संक्रमणकालीन मोडमा छ । सुशीला कार्कीको नेतृत्वले यो मोडलाई स्थायित्वमा रूपान्तरण गर्ने कि थप दक्षिणपन्थी अस्थिरता निम्त्याउने – यो प्रश्नको उत्तर समयले दिनेछ । तर एक कुरा स्पष्ट छ, कार्कीको नेतृत्व केवल एक व्यक्तिको कथा होइन, यो सम्पूर्ण राष्ट्रको लोकतान्त्रिक भविष्यको कथा हो ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ३४ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा