
जेन गुडाल इन्स्टिच्युटकी संस्थापक एवं राष्ट्रसंघकी शान्ति दूत तथा विश्वप्रसिद्ध एथोलोजिस्ट, संरक्षणवादी र मानवतावादी व्यक्तित्व जेन गुडालको ९१ वर्षको उमेरमा निधन भएको छ । जेन गुडाल इन्स्टिच्युटले उनको मृत्यु भएको पुष्टि गरेको छ । “उनी निद्रामा शान्तिपूर्वक प्रस्थान गरिन्”, विज्ञप्तिमा भनिएको छ।
“आज, राष्ट्रसंघ परिवार डा. जेन गुडालको निधनमा शोक मनाइरहेको छ। वैज्ञानिक, संरक्षणवादी र राष्ट्रसंघकी शान्ति दूतले हाम्रो ग्रह र यसका सम्पूर्ण वासिन्दाको लागि निरन्तर काम गरिन्, मानवता र प्रकृतिका लागि असाधारण विरासत छोडेर गइन्,” राष्ट्रसंघले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत लेखेको छ।
“जेन गुडाल, हाम्री प्रिय शान्ति दूतको निधनको खबरले म गहिरो दुःखी छु। उनले मानवता र हाम्रो ग्रहका लागि असाधारण विरासत छोडेर गएकी छिन्। वातावरणीय संरक्षणप्रति उनको आजीवन समर्पण र राष्ट्रसंघप्रति उनको दृढ समर्थनको लागि म कृतज्ञ छु,” राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार एक्समार्फत लेखेका छन्।
“डा. जेन गुडालले आफ्ना अनुसन्धानका फल विशेष गरी बालबालिकासँग बाँड्न सकिन् र महान् वानरहरूबारे हाम्रो दृष्टिकोण परिवर्तन गर्न सकिन्,” युनेस्कोकी प्रमुख ओड्रे अजोउले एएफपीसँग भनेकी छन्।
टाइम पत्रिकाका अनुसार, गुडाल २०१९ का सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक थिइन्।
जेन गुडालले १९९७ डिसेम्बर ६ मा नैरोबी उत्तर नान्युकिस्थित स्वीटवाटर्स चिम्पान्जी सेन्ट्ररीमा टेस नामक पोथी चिम्पान्जीसँग चुम्बन आदान–प्रदान गरेकी थिइन्।
गुडाल आफ्नो ६५ वर्ष लामो तान्जानियाको गोंबेमा भएको जंगली चिम्पान्जीको अध्ययनका लागि विश्वभर चिनिन्थिन्।

उनको अन्तिम सार्वजनिक उपस्थिति मध्ये एक २०२५ सेप्टेम्बर २२ मा भएको Forbes Sustainability Summit मा थियो, जहाँ उनी आफ्नो स्थायी साथी Mr. H (स्टफ्ड चिम्पान्जी) सँग देखिएकी थिइन्। १९९६ मा भेट भएको Mr. H उनको प्रायः सबै अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा साथ रह्यो। उनीहरू ६५ भन्दा बढी देशमा सँगै गएर पृथ्वी संरक्षण र जीवजन्तुका महत्वबारे जनचेतना फैलाइरहेका थिए।
गुडाल पहिलो पटक १९९८ मा चीनमा भाषण दिन गएकी थिइन्। एक वर्षपछि, Roots & Shoots का कार्यालयहरू बेइजिङ र सांघाईमा एकैपटक स्थापना भए। त्यसयता, उनले प्रायः हरेक शरद–हिउँदमा चीन भ्रमण गरी वातावरणीय कार्यक्रमहरू प्रवर्द्धन गरिरहेकी थिइन्।
चिनियाँ वन्यजन्तु विशेषज्ञ लु झीलाई गुडालले प्रोत्साहन पनि दिएकी थिइन्। १९९२ मा उनीहरूको भेट भएको थियो। लु झीले १४ वर्षकै उमेरदेखि गुडालका पुस्तक पढ्न सुरु गरेको बताउँदै, भेट हुँदा अचम्म र खुशी लागेको स्मरण गरेकी छिन्।
गुडालको चीनसँगको सम्बन्ध लामो रह्यो। २०१७ मा उनले चिनियाँ सरकारले वातावरण सुधारमा गरेको प्रयासको प्रशंसा गर्दै “World Environment Day; China Works Toward a Brighter Future” शीर्षकमा लेख लेखेकी थिइन्। २०१८ मा उनी चीनको CCTV कार्यक्रम “Readers” मा देखिएकी थिइन्।

जन्म नाम भ्यालेरी जेन मोरिस–गुडाल, उनी व्यापारी तथा रेसिङ चालक मोर्टिमर हर्बर्ट मोरिस–गुडाल र लेखिका मार्गरेट मिफान्वी जोसेफकी जेठी छोरी थिइन्। गुडाल बाल्यकालदेखि नै वन्यजन्तुप्रति मोह राख्थिन्। उनको सपना अफ्रिका पुग्ने, जनावरबारे अध्ययन गर्ने र तिनबारे पुस्तक लेख्ने थियो।
वेट्रेसको काम गरेर पैसा जम्मा गरेपछि उनी समुद्री यात्राबाट केन्या गइन्। त्यहाँ पुरातत्त्वविद् लुइस लिकीलाई भेट्न सल्लाह दिइएको थियो। लिकीले उनलाई राष्ट्रिय संग्रहालयमा सचिवको काम दिए, जसले गर्दा उनी लुइस र मेरी लिकीसँग ओल्दुवाई गोर्जमा जीवाश्म खोजी यात्रामा जाने अवसर पाइन्।
लुइस लिकीले उनलाई तान्जानियाको गोंबेमा जंगली चिम्पान्जी अध्ययन गर्न पठाए। पछि उनले प्रायः भन्ने गर्थिन्, “म कुनै पनि जनावरको अध्ययन गर्थें,” तर मानवरूपी नजिकैको प्राणी चिम्पान्जीलाई अध्ययन गर्ने मौका पाएकोमा आफू अत्यन्त भाग्यमानी ठान्थिन्।
१९६० जुलाई १४ मा जेन पहिलो पटक गोंबे पुगेकी थिइन्। त्यहाँ उनले चिम्पान्जीको अनौठो व्यवहार बुझिन् र चिम्पान्जीले औजार प्रयोग गर्ने ऐतिहासिक खोज गरिन्।
टाइम पत्रिकाका अनुसार, उनले पत्ता लगाइन् कि चिम्पान्जीहरूले मानिसका केही अन्धकार पक्षहरू पनि प्रतिविम्बित गर्छन्। तर उनीहरूले खेल्छन्, एकअर्कालाई गुदगुदी गर्छन्, चुम्बन गर्छन्, र शोक मनाउँछन्—यो सबै मानवसँग मिल्दोजुल्दो छ।


















प्रतिक्रिया