रसुवा । लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चार जना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन् । १६ जनाको समूहमध्ये चार जना शनिबार गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सा तर्ने क्रममा बगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार, भक्तपुरबाट आएको टोली शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेको थियो । शनिबार बिहान खोल्सा तर्ने क्रममा दुर्घटना भएको हो ।
खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएकोमा तीमध्ये चार जनाको उद्धार गरिएको छ भने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर-१०) बेपत्ता रहेका छन् ।
लगातारको वर्षाका कारण खोल्साको पानी र वेग बढेकोले दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । हाल बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।



















प्रतिक्रिया