१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नजिकबाट माछापुच्छे नियाल्न ‘हेम्जाकोट’



गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको मुख्य आकर्षण हो ।

प्रकृतिकसँगै ऐतिहासिक महत्वको यो गाउँ नेपालका बाइसे चौबीसे राजका पालादेखि अस्तित्वमा रहेको बताइन्छ । गाउँ माथिको कोत (कोट)मा तत्कालीन समयमा राजाहरूको दरबार रहेको र यही कोटको नामबाट गाउँको नाम हेम्जाकोट रहेको हुनसक्ने सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार गाउँकै अर्कोतर्फ टाकुरामा जङ्गलको बीचमा अर्को जयकोट नाम गरेको कोट छ । यस कोटमा पनि बलिपूजा गर्ने प्रचलन छ । जय कोटमा दिइएको बलीको प्रसाद महिलाले खान नहुने तथा घरमा पनि लैजान नहुने विश्वास गरिन्छ । धार्मिक एवम् ऐतिहासिक रुपमा चर्चा कमाएको यो क्षेत्र प्राकृतिक रुपमा उत्तिकै मोहक छ । यहाँको प्राकृतिक सौन्दर्य एवम् ऐतिहासिकतालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ २०६२ सालदेखि घरवास सञ्चालन गरिएको छ ।

सुरुमा आफूले एउटा घरबाट घरवास कार्यक्रम सुरु गरेको अनुभव सुनाउँदै गुरुङले त्यसयता यहाँका १६ वटासम्म घरमा घरवास सञ्चालन भएको बताए ।

‘यहाँ कोभिड अघिसम्म १६ वटा घरमा घरवास सञ्चालन भएकोमा त्यस पछि भने १२ वटा घरमा मात्रै घरवास सञ्चालनमा छ’, उनले भने, ‘पहिला पर्यटन बोर्डमा घरवास दर्ता भएकामा अहिले माछापुच्छ्रे गाउँपालिकामा दर्ता गरिएको छ ।’

राम्रो आतिथ्यता प्रदान गर्दै आएका यहाँका स्थानीयले यहाँ आउने पर्यटकका लागि खाजा, बेलुकाको खाना, बास र बिहानको नास्तासहित एक हजार २०० रुपैयाँको प्याकेज निर्धारण गरेका छन् ।

पोखरा महानगरपालिका-१ को सिमपानीदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे गाउँपालिकाको धितालबाट तीन किलोमिटर अगाडि हेम्जाकोट गाउँ छ । पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ । ५० घर रहेको बस्तीका १२ घरमा ८० जनासम्म पाहुना अटाउने गरी व्यवस्था गरिएको छ । यो सामुदायिक होमस्टे २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो ।

यहाँबाट माछापुच्छ्रे सहित अन्नपूर्ण, लमजुङलगायत हिमालका साथै छिमेकी गाउँ ल्वाङको चियाबारी आदि एकसाथ अवलोकन गर्न सकिन्छ । यो गाउँ ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्ने भएकाले पर्यटकीय मौसममा स्वदेशी एवम् विदेशी पर्यटकको भीड लाग्ने गर्दछ ।

रमणीय गाउँ भए पनि यहाँ अझै अपेक्षित पर्यटकको आगमन बढाउन नसकिएको अर्का घरवास सञ्चालक पूर्ण गुरुङले बताए ।

शान्त र मनोरम गाउँले परिवेश, गुरुङ मौलिक संस्कृतिसँगै हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता रहेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताए । पछिल्लो समयमा हेम्जाकोटमा विभिन्न म्युजिक भिडियो तथा चलचित्र छायाङ्कन गर्ने स्थलका रुपमा पनि रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : १२ बजे

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने