काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) का रूपमा दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा कमाण्ड सम्हालेका छन् । अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ सेवा अवधिका कारण ३० वर्षे अनिवार्य अवकाशमा गएपछि कार्कीले प्रहरी नेतृत्वको जिम्मेवारी सम्हालेका हुन् ।
गत कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गरेको थियो । उनी आज बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह (इन्सिग्निया) ग्रहण गरी प्रहरी प्रधान कार्यालय पुगेका छन्, जहाँ उनले नयाँ जिम्मेवारी औपचारिक रूपमा लिएका हुन् ।
कार्कीले पछिल्लो समयमा उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्दै आएका थिए । जेनजी आन्दोलनका बेला उनले उपत्यकाको सुरक्षाको जिम्मेवारी बहन गरेका थिए । त्यसअघि उनी मानव स्रोत साधन विभाग प्रमुख समेत रहिसकेका थिए ।
डीआईजीका रूपमा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालय को नेतृत्व गरेका थिए भने एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसर का प्रमुखका रूपमा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समयमा जिम्मेवारी सम्हालेका थिए ।
इमानदार, नीतिपरायण र व्यावसायिक अधिकारीका रूपमा परिचित कार्की कुनै ठूला आर्थिक विवादमा नपरेको प्रहरी वृत्तका स्रोतहरूले जनाएका छन् ।
फिल्ड कमाण्डदेखि आईजीपी सचिवालयसम्मको दीर्घ अनुभव, अनुसन्धान क्षमतामा दक्षता र संगठनभित्र अनुशासनपालनाका कारण उनी प्रहरी संगठनभित्र सम्मानित अधिकारी मानिन्छन् ।
कार्कीले विदेशमा विभिन्न उन्नत सुरक्षासम्बन्धी तालिमहरू पनि लिइसकेका छन् र अघिल्ला चरणमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत भइसकेका थिए ।


















प्रतिक्रिया