१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ



काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो ।

आइतबार काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको थियो । प्रदूषण बढेर मङ्गलबार १९२ एक्युआई मापन गरिएको थियो । आज पनि प्रदूषण कम नभएको वातावरण विभागले जनाएको छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयदेखि वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा प्रदूषकतत्व थुप्रिँदै गएको बताए। “उपत्यका कचौरा आकारको छ, हावा नचल्दा र वर्षा नहुँदा यहाँको प्रदूषण अनेत्र जान पनि सक्दैन । धुवाँधुलो हावामा तैरिएर बसिरहेको हुन्छ”, उनले भने, “साथै उद्योग, कलकारखाना सञ्चालन र तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधिले पनि प्रदूषण बढाउन भूमिका खेलेका छन् । यिनै औद्योगिक धुवाँधुलो, सीमापार (क्रस–बोर्डर)बाट भित्रिने प्रदूषणले हावाको गुणस्तरमा असर पारेको हो ।”

वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै वृद्धि हुनसक्ने उनको भनाइ छ । साथै दिगो र वातावरणमैत्री विकासका उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको उनले बताए। आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये आठौं स्थानमा सूचीकृत भएको छ । विश्वकै सबैभन्दा प्रदूषित सहरको रुपमा भारतको नयाँडिल्ली सूचीकृत भएको छ । जहाँ वायु प्रदूषण २४७ एक्युआई मापन गरिएको छ ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ । एक सय ५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ । यस्तो विपद् न्यूनीकरणका लागि फोहर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ३ : १९ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता